बुटवलः बिदामा होस् वा साँझ–बिहान, आफ्ना बालबालिका मोबाइल र ट्याब धेरै चलाएर बिग्रिने हुन् कि भनी चिन्ता लिने अभिभावक धेरै छन् । कतिपय अभिभावकले बालबालिकाबाट ट्याब, मोबाइल लुकाएर राख्ने गरेका पनि छन् । बालबालिकाकै कारण अभिभावकले ट्याब र स्मार्ट मोबाइल प्रयोग गर्न छोडेर सामान्य मोबाइल बोकेका उदाहरण पनि भेटिन्छन् । छोराछोरीको परीक्षाको मुखमा घरको नेट कनेक्सन हटाउने अभिभावक पनि कम छैनन् ।

तर बुटवलको एउटा विद्यालयका स्कुले बालबालिकाहरु भने घरमा मात्रै होइन स्कुल पनि ट्याब नै बोकेर जान्छन् । कक्षामा विषय शिक्षक प्रवेश गर्नासाथ झोलाबाट कापी–कलमसँगै ट्याब झिक्छन् ।


। त्यसपछि बल्ल उनीहरूको पढाइ सुरु हुन्छ ।

यसरी प्रविधिको प्रयोगबाट बालबालिकालाई स्मार्ट शिक्षा प्रदान गर्न सुरु गरेको हो, बुटवलको सहिद स्मारक बोर्डिङ स्कुलले । सो स्कुलले विगत दुई वर्षदेखि डिजिटलाइज्ड शिक्षण पद्दति अपनाउँदै आएको छ । कक्षा ६ देखि १० लाई बुकलेस (किताबरहित) बनाई डिजिटल माध्यमबाट पढाउँदै आएको विद्यालयका निर्देशक गणेश ज्ञवालीले बताए । प्रविधि प्रयोगमा दक्ष बनाई विश्वबजारमै प्रतिस्पर्धी र सक्षम शैक्षिक जनशक्ति उर्न डिजिटलाइज्ड अध्यापन सुरु गरेको उनले बताए ।

नयाँ र उत्कृष्ट पाठ्य–सामग्री खोज्न र अध्ययन गर्न सहज भएकाले डिजिटलाइज्ड अध्यापन प्रणाली उपयुक्त भएको विद्यार्थीहरु बताउँछन् । एसईईको अन्तिम तयारीमा रहेकी कक्षा १० कि छात्रा सरिष्मा पोख्रेलले प्रविधिको प्रयोगले आफूलाई चाहिने पाठ्य–सामग्री खोज तथा अध्ययन गर्न निकै सहज भएको अनुभव सुनाइन् । विद्यालयकी अर्की छात्रा आरती जैसवालले पनि भिजुअल र अडियोबाट पढ्दा घोकन्ते बानी हटेको बताइन् । यो समाचार आजको नागरिक मा छ ।


प्रकाशित मितिः बुधबार, चैत ५, ०७:०९