विराटनगरः किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ ।

भारत बिहार अररिया जिल्लाका ३५ वर्षीय मुजफ्फर हुसैनले किर्ते कागजका आधारमा रंगेली नगरपालिका–८ बाट २०७४ माघ १७ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएको जनाएको छ ।

विभिन्न नक्कली कागजपत्र तयार गरी वडा कार्यालयका अध्यक्ष र सचिवलाई झुक्काएर उनले राज मियाँको नामबाट नागरिकता प्रमाणपत्रका लागि सिफारिस गराई नागरिकता लिएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङमा रंगेली नगरपालिका वडा नं– ८ का अध्यक्ष टंक आचार्यले लिखित रुपमा कारबाहीका लागि माग गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।


भारत कुर्सकुट्टा डोवाबडी १३ घर भई रंगेली नगरपालिका–८, दर्बेसामा रहेको ठूलोबुबाको घरमा बस्दै आएका हुसैनले राज मियाँको नामबाट नागरिकता झुक्काएर लिएको उजुरी पत्रमा उल्लेख छ ।

झुक्काएर नागरिकता लिने मियाँ इलाका प्रहरी कार्यालय रंगेलीमा मानव बेचबिखन र नक्कली नागरिकता मुद्दामा थुनामा छन् ।