विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका प्रखर वक्ता तथा जुझारु युवा नेता हुन् । उनी पार्टीभित्र र बाहिर पनि प्रष्ट वक्ताका रूपमा परिचित छन् । लोकतन्त्रप्रति प्रतिबद्ध, सक्रिय र रूपान्तरणको पक्षमा सधैं वकालत गर्ने युवा नेताका रूपमा उनको परिचय बनेको छ । बौद्धिक तथा निडर व्यक्तित्वका रूपमा परिचित शर्मा २०४० सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएका हुन् । २०४३ सालमा मेची क्याम्पसको सभापति भएका शर्मा २०४९ सालमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति बनेका थिए । उनी कांग्रेसको तेह्रौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।


। गत आम निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाट सांसद् उम्मेदवार बनेका शर्मा झिनो मतले उपविजेता बन्न पुगे । उनले सधैं नीति, नैतिकता र रूपान्तरणको पक्षमा रहने तर गुट–उपगुटमा रहन नचाहने नेताका रूपमा पनि परिचय बनाएका छन् । अहिले उनको परिचय कांग्रेसको प्रवक्ताको रूपमा थपिएको छ । कांग्रेसको कमजोर जनमत, अब कांग्रेसले संसद्मा खेल्ने भूमिका, भावी रणनीति, पार्टी पुनर्जीवनसहित अन्य विषयमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासँग नेपाल ताराका लागि सुदर्शन आचार्यले गरेको संवाद ।

अहिले काँग्रेसको कमजोर जनमत आएको छ यसलाई कसरी लिनुभएको छ ?
अहिलेको पराजयलाई कांग्रेसले विशेष पाठका रूपमा लिएको छ । पराजयको जुन कुरा छ जनताले पहिलो पार्टीका रूपमा कांग्रेसलाई निवार्चित नगरेर प्रतिपक्षको स्थान दिएका छन् हामीले त्यसलाई स्वीकारेर जानुपर्छ । पराजयका बाबजुद पनि कांग्रेसले एउटा ऐतिहासिक चरण पार गरेर आएको छ । एउटा, देशमा चलिरहेको संक्रमणकाललाई अन्त्य गरेर नयाँ चरणमा अवतरण गराएको छ । अर्को, नेपाली कांग्रेस आफैंमा पनि गौरवमय इतिहास बोकेको पार्टी हो । यसको प्रजातन्त्रका लागि लामो समय लडेको इतिहास छ । प्रजातन्त्र स्थापित गर्न नेपाली कांग्रेसको अहं भूमिका छ । त्यसैले नेपाली कांग्रेसले अब आफ्नो विगतको गौरवमय इतिहासलाई जनतासामु लैजाने, आफूभित्र भएका कमीकमजोरीलाई करेक्सन गरेर जाने र विगतमा कांग्रेसले गरेका विकासका सुरुवात, प्रजातान्त्रिक अभ्यासजस्ता कुरा जनतालाई प्रष्ट पार्ने मुख्य काम गर्छ । त्यसपछि अब राष्ट्रलाई समृद्धितर्फ डोर्याउन गरिने विकासका खाका तथा रणनीतिलाई जनतासामु लैजाने काम पनि कांग्रेसले गर्छ ।

अहिलेको वाम गठबन्धनको बहुमत र उनीहरूको रणनीतिलाई कांग्रेसले कसरी फेस गर्ने योजनामा छ  ? 
चैत ९ गते पार्टीको कोन्द्रीय कार्यसमितिको बैठक छ । त्यो बैठकमा कांंग्रेसको आफ्नै रूपान्तरणका लागि गर्नुपर्ने महत्वपूर्ण पाटो छ, त्यसमा प्रवेश गर्छ । त्यसपछि संसद्मा खेल्नुपर्ने भूमिका तथा रणनीतिका बारेमा छलफल गर्छ । एक त संसदको सन्दर्भमा संसदीय दलको बैठकले छायाँ सरकारको अवधारणालाई अगाडि सार्ने निधो गरेको छ । त्यसलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नेछ । हुन त छायाँ सरकार भन्दा आमरूपमा कतै समानान्तर सरकार हो कि भन्ने भ्रम भएजस्तो देखिन्छ । त्यस्तो होइन, नेपाली कांग्रेसभित्र विभिन्न क्षेत्र हेर्ने समितिहरू छन् । ती समितिहरूले आ–आफ्ना क्षेत्र हेर्छन् । त्यस्तै, संसदभित्र पनि विभिन्न क्षेत्रसम्बन्धी समितिहरू छन्, तिनले सम्बन्धित क्षेत्र हेर्ने गर्छन् । छायाँ सरकारले पनि विभिन्न मन्त्रालयले गरेका राम्रा–नराम्रा कामलाई नजिकबाट हेर्छ । राम्रा काम गरे समर्थन गर्ने र गलत काम गरे विरोध गर्ने तथा त्यसलाई जनतासामु लैजाने राणनीतिका लागि पार्टीलाई मार्गनिर्देशन गर्नेछ । छायाँ सरकारमा पार्टीभित्र भएका सम्बन्धित विषयविज्ञ साथीहरू जानेछन् । यो सरकारलाई अप्ठ्यारोमा पार्ने वा प्रतिशोध साँध्ने रणनीति हुँदैहोइन र हारको आक्रोश पनि होइन । यो त विशुद्ध प्रजातान्त्रिक अभ्यास हो । संसारका प्रजातान्त्रिक राष्ट्रमा यस्तो अभ्यास भएका छन् । नेपालमा पनि प्रजातन्त्रको अभ्यासका रूपमा यसलाई लिनुपर्छ ।

कांग्रेसले केन्द्रमा मात्र होइन प्रदेशमा पनि पतिपक्षकै भूमिका पाएको छ । वाम गठबन्धन सरकार आफ्नो रणनीति लागू गर्न आक्रामक रूपमा अघि बढ्ने लक्षण देखिएको छ । यस्तो पृष्ठभूमिमा कांग्रेसको भावी रणनीति कस्तो हुनेछ  ?
नेपाली कांग्रेस सातवटा प्रदेशसभा, केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा सबैमा प्रतिपक्षमा छ । यी सबै संसद्मा नेपाली कांगे्रसले विशेष रचनात्मक भूमिका खेल्नेछ । उहाँहरूको कार्य आक्रामकै त म भन्दिनँ तर प्रजातन्त्रको सुयोग्यता भनेकै पराजयलाई सहर्ष स्वीकार गर्ने र आफ्ना कमजोरीलाई आफूभित्रै खोज्ने हो । अब नेपाली कांग्रेसले अहिले भएको पराजयका कारण खोज्छ र आफूभित्र भएका कमीकमजोरी खोजेर तिनलाई सुधार गर्दै अघि बढ्छ । अब कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने कुरामा कुनै कमी रहने छैन । प्रतिपक्षको भूमिका विनम्र तर बुलन्द हुन्छ । राम्रो कामको हामी सधैं समर्थन गर्नेछौं । सरकार संवैधानिक मूल्य र मान्यताविपरीत गएमा हामीले सधैं खबरदारी गर्नेछौं । विकासको नाममा राष्ट्र तथा समाजलाई दीर्घकालीन असर गर्ने काम भए सशक्त विरोध गर्नेछौं । यसको छनक राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएर र सभामुख तथा उपसभामुखमा समर्थन जनाएर दिइसकेका छौं ।

आफ्नो पदको गरिमा राख्न सक्ने व्यक्तिलाई अवश्य हाम्रो समर्थन हुनेछ भने कमीकमजोरी भएका व्यक्ति आए त्यसको विरोध हुनेछ । राष्ट्रपतिको शालीनता, सुयोग्यता र पृष्ठभूमिमा कांग्रेसमा कुनै शंका छैन तर उहाँले संवैधानिक राष्ट्रपतिको जुन भूमिका हो त्यसको पालना गर्नुभएन । संविधानको धारा ६६ को उपधारा २ मा सम्माननीय राष्ट्रपतिले मन्त्रिपरिषद्को सल्लाह र सहमतिमा काम गर्नुपर्ने उल्लेख छ । राष्ट्रपतिले भने कात्तिक १ गते सरकारले उहाँसमक्ष पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यदेश दुई महिना रोकेर राख्नुभयो । अर्को, माघ २६ गते तत्कालीन संविधानको धारा ८६ को उपधारा २ ‘ख’ अनुसार सरकारले तीनजना राष्ट्रियसभा सदस्य सिफारिस गरेर पठाएकोमा त्यसलाई रोकी उस्तै खालको तर नयाँ सरकारले गरेका सिफारिसलाई स्वीकृति प्रदान गर्नुभयो । यो कार्यलाई हाम्रो पार्टीले राष्ट्रपतिले संवैधानिक रूपमा आफ्नो भूमिका नखेलेर पार्टीप्रभावित भएको ठहर गरेको छ । त्यसले नेपाली कांग्रेसका उम्मेदवारले हार्ने निश्चत हुँदाहुँदै पनि हाम्रो पार्टीले उम्मेदवार उठायो । हामीले संवैधानिक भूमिका निवाह गर्ने क्षमतावान् र भूमिका खेल्न सक्ने व्यक्तित्वलाई सभामुखमा पूर्ण समर्थन गर्यौ । यसबाट हाम्रो भावी संसदमा खेल्ने भूमिका र सरकारलाई गर्ने सहयोग र विरोधलाई प्रकट गरेका हौं ।

जनतामा स्वतः हार्ने राष्ट्रपति पदमा कांग्रेसले उम्मेदवारी नदिएर रचनात्मक भूमिका खेल्दै अघि बढेको भए हुन्थ्यो भन्ने देखियो तर कांग्रेसले त्यसो गरेन, यसको अर्थ ?
यसको विषयमा मैले पहिले नै प्रष्ट पारिसकें । राष्ट्रपतिको निर्वाचनमा उम्मेवारी दिनु भनेको संविधान विरोधी काम र आफ्नो भूमिका तटस्थ रूपमा निर्वाह नगरेको विरोधको संकेत हो । अर्को, प्रजातन्त्रमा चुनाव जित्ने–हार्नेको मात्रै कुरा रहन्न । जित्ने त हो नै तर हारेर पनि लोकतन्त्र बलियो बनाउने हो । जिम्मेवार लोकतान्त्रिक पार्टीले आफ्ना प्रजातान्त्रिक मूल्य मान्यता स्थापित गर्न पनि हार्ने अवस्थामा समेत निर्वाचनमा भाग लिनुपर्छ । कांग्रेसले त्यसैलाई पालन गरेको हो । संघीय संसद् र प्रदेशको निर्वाचनअघि संविधानसभाको दोस्रो ठूलो दल एमाले तथा तेस्रो ठूलो दल माओवादी पार्टीले चुनावी गठबन्धन गरे । त्यसबेला कांग्रेसले हार्ने निश्चित थियो तर हामी निर्वाचनमा गयौं । हाम्रै सरकारले निर्वाचन स्वच्छ र निष्पक्षरूपमा सम्पन्न गरायो । कतिपयले कांग्रेसले हार्छ, हार्ने निर्वाचन गराउँदैन पनि भने । कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले हार्ने–जित्ने कुरालाई महत्व नदिई निर्वाचनमा होमियो र सरकारले निर्वाचन गरायो । प्रजातन्त्र हाम्रो मूल मर्म हो, नीति हो, हामीले यसलाई अघि बढाइरहन्छौं । जित्दा पनि प्रजातान्त्रिक मूल्य मान्यतालाई छाड्दैन र हार्दा पनि त्यसको रक्षाका लागि दृढताका साथ उभिन्छ ।

कांग्रेस प्रजातान्त्रिक पार्टी हो, अहिलेसम्म आइपुग्दा कमजोर धरातलबाट गुज्रिँदै गएको छ भन्ने गुनासो छ । वास्तवमै यसको कारण के हो ? पार्टीभित्र आन्तरिक प्रजातन्त्र कमजोर बन्दै गएको हो ?
नेपाली कांग्रेसभित्र आन्तरिक प्रजातन्त्र एकदमै कमजोर छ म भन्दिनँ र पूर्ण बलियो छ भनेर पनि म भन्दिनँ । अहिले हामीभित्र प्रशस्त कमीकमजारी रहे, अब त्यसलाई गम्भीर रूपमा सुधार गरेर अघि बढ्नु आवश्यक छ । प्रजातन्त्रको कुरा गर्दा प्रजातान्त्रिक पार्टीको कुरा गर्दा अहिलेसम्म नेपाली कांग्रेस प्रजातन्त्रका लागि पटकपटक संघर्ष गरेर आयो । अब कांग्रेसले आन्तरिक रूपान्तरणका लागि पनि त्यस्तै संघर्ष गर्नु पर्नेछ । नेपाली कांग्रेस सात सालमा प्रजातन्त्रका लागि लड्यो, सत्र सालमा लड्यो, छत्तीस सालमा लड्यो, छ्यालीसमा लड्यो, त्रिसठ्ठीमा लड्यो भनेर पुग्दैन । यो पार्टीले केन्द्रीय समिति निर्वाचनबाट बनाएको छ भनेर पनि पुग्दैन । बीपीको सिद्धान्तमा हिंड्ने पार्टी हो त्यसैले कांग्रेस प्रजातान्त्रिक पार्टी हो, कम्युनिष्टहरूलाई विश्वास गर्न सकिंदैन त्यसैले कांग्रेस पजातान्त्रिक पार्टी हो भनेर अब पुग्दैन । अब कांग्रेसले प्रजातन्त्रलाई जीवनपद्धतिमा बदल्नुपर्छ । उसले गर्ने तत्कालका निर्णयदेखि दीर्घकालीन निर्णय बहुसंख्यक नागरिकको भावनालाई प्रतिविम्बित हुने गरी गर्न सक्यो सकेन भन्ने कुराले पार्टी कत्तिको लोकतान्त्रिक छ भन्ने कुरा प्रष्ट्याउँछ । कांग्रेस त्यसतर्फ गम्भीर हुनु आवश्यक छ र अब त्यतातर्फ लाग्छ ।

कांग्रेसभित्र युवा नेतृत्व अगाडि आउनुपर्छ भन्ने आवाज उठिरहेको छ तर त्यो कार्यरूपमा आउन सकेको छैन । यसलाई कसरी लिनुभएको छ ?
कांग्रेसको इतिहासमा विभिन्न उमेर समूहले नेतृत्व गरेको देखिन्छ । पाका उमेरका व्यक्तित्वले मात्रै नेतृत्व गरेको भन्ने अवस्था छैन । कुनै कालखण्डमा पाका उमेरका व्यक्तित्वले पार्टीको नेतृत्व गरेको देखिन्छ भने कुनै कालखण्डमा युवा व्यक्तित्वले सरकार सञ्चालनको नेतृत्वको अवसर पाएका छन् । पार्टी स्थापना कालमा युवा बीपी कोइरालाले नेतृत्व गर्नुभएको थियो । ०५१ को संसदीय निर्वाचनपछि पार्टीले युवा व्यक्तित्वलाई सरकार सञ्चालनको अवसर दिएको छ । जसको ५० वर्षभन्दा कम उमेर थियो । अहिले नेपाली कांग्रेस पार्टीको केन्द्रीय नेतृत्वमा ३०–३५ जना युवाहरू छौं जसलाई युवा नेताहरू भन्ने गरिन्छ । अब पार्टी नेतृत्व तहमा नयाँ नेताको भूमिका महत्वपूर्ण हुन्छ । अब युवा नेताहरूको नेतृत्व तहमा बढोत्तरी भएर जानेछ । यसको अति जरुरी छ । व्यक्तिगत तवरबाट पनि जरुरी छ, वैचारिक तवरबाट पनि यसको जरुरी छ । पाटीले पराजय व्यहोर्दै गर्दा स्वाभाविकै रूपमा प्रश्न उठे— पार्टी निर्वाचनमा जाँदा केन्द्रीय कमिटीका पदाधिकारी मनोनयन गरिएन, २१ महिनासम्म पनि केन्द्रीय कमिटी खाली भए । प्रदेश समितिहरू बनाउन सकेन भन्ने आलोचना भए ।

नेपाली कांग्रेसले युवालाई बेवस्था गरेको हो ?
त्यस्तो होइन । अब क्रमिक रूपमा कांग्रेसले युवालाई नेतृत्व तहमा स्थापित गर्दै लैजान्छ । पार्टीले निर्वाचन परिणामपछि युवालाई भूमिका दिन सुरु गरेर त्यसलाई पुष्टि गरेको छ । युवा उमेरका कसैलाई पार्टी प्रवक्ता बनाएर त्यसको सुरुवात गरेको छ । अरू कसैलाई अन्य भूमिका दिन्छ । यसमा शंका छैन ।

पार्टीभित्र गुटगत द्वन्द्व पनि देखिन्छ । त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने लाग्छ ?
हेर्नुस्, सिद्धान्तको कुरा गर्दा प्रजातान्त्रिक राष्ट्र त्यो हुन्छ जुन देशमा दलीय स्वतन्त्रता हुन्छ । जहाँ दलीय स्वतन्त्रता हुँदैन त्यहाँ लोकतन्त्रको कल्पना गर्न किंदैन । उत्तरकोरियामा लोकतन्त्र छ भन्न सकिंदैन । त्यहाँ एउटा पार्टीले एकलौटी शासन चलाइरहेको छ । नेपालको सन्दर्भमा हेर्दा नेपाल लोकतान्त्रिक राष्ट्र हो, यहाँ दलीय स्वतन्त्रता छ, स्वतन्त्र न्यापालिका छ । मानवअधिकार आयोग सक्रिय छ । नेपालमा मानव अधिकारको ग्यारेन्टी गरिएको छ, सम्पत्तिको अधिकार छ, वाक स्वतन्त्रता छ । त्यस्तै पार्टी पनि लोकतान्त्रिक छ कि छैन भन्ने कुरा पार्टीको आन्तरिक स्वतन्त्रता कत्तिको छ भन्ने कुराले निर्धारण गर्छ । पार्टी जीवन्त छ छैन भन्ने कुरा उसभित्र फरक विचार छन् कि छैनन् भन्ने कुरा महत्वपूर्ण हो । व्यक्तिको पनि आन्तरिक जीवन जीवन्त छ कि छैन भन्ने कुरा फरक विचार राख्न सक्छ कि सक्दैन भन्ने कुराले निर्धारण गर्छ । स्वाभाविक छ नेपाली कांग्रेसभित्र पनि फरक विचार राख्ने व्यक्ति तथा समूह छन् । तिनको व्यवस्थापन पनि जरुरी छ तर पार्टीभित्र बुद्धिजीवी वर्ग छ, बुद्धिजीवी भित्र पार्टीका सिद्धान्त, कार्यव्यवहार र भविष्यका बारेमा छलफल हुन्छन्, हुनैपर्छ । त्यस्तै, युवाको जमात छ, विद्यार्थी वर्ग छ ती तहमा पनि विभिन्न छलफल हुन सक्छन् । म पार्टीको प्रवक्ताका रूपमा के भन्न चाहन्छु भने त्यस्ता छलफ हुनुपर्छ र हुन दिनुपर्छ । त्यसलाई गुटगत रूपमा लिनु हुन्न । वास्तवमा कांग्रेसले क्षेत्र–क्षेत्र तथा ठाउँ–ठाउँमा भएका छलफलको निष्कर्षलाई ऊर्जाका रूपमा ग्रहण गरेर जान्छ । यसबाट सबैको व्यवस्थापन हुनेछ ।

नेपाली कांग्रेसलाई पुनर्जीवन दिन यथाशीघ्र महाधिवेशन गर्नुपर्ने माग छ नि ?
नेपाली कांग्रेसको चैत ९ गते केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । केन्द्रीय कार्यसमितिमा विसद् रूपमा पार्टीको समग्रताका बारेमा छलफल हुन्छ । पार्टीको पराजयको कारणका बारेमा खोजी हुन्छ र भावी रणनीतिका बारेमा पनि विस्तृत छलफ हुनेछ र एउटा टुंगोमा पु¥याइनेछ । समधानका उपायको निर्धारण पनि हुन्छ । कार्यक्रमहरू पनि बन्छन् । पार्टीको त्यो बैठकले महासमितिको बैठकको पनि निर्धारण गर्छ । केन्द्रीय समितिले पूर्णता पाउँछ, सातैवटा प्रदेशमा प्रदेशस्तरीय समिति बन्छन् । त्यसपछि महासमितिमा पार्टीको समग्रताका विषयमा छलफल गरी रणनीति तयार गरेर अघि बढ्छ ।

कांग्रेसभित्र निर्वाचन पराजयका कारण आम कार्यकर्ताको मनोबल घटेको छ भनिन्छ । आम कार्यकर्ताको मनोबल बढाउने केही अचुक औषधि छ कि ?
नेपाली कांग्रेसले समग्रतामा कार्यक्रमको विशेष प्याकेज नै बनाएर अघि बढ्छ । जस्तो भूकम्प गएको क्षेत्रमा जाँदा पहिलो प्राथमिकता मानवीय उद्धार हुन्छ, त्यसपछि बस्ने, खाने व्यवस्था गरिन्छ । त्यस्तै राजनीतिक भूकम्प गएको अर्थात् पराजय व्यहोरेको पार्टीको पहिलो प्राथमिकता मनोवैज्ञानिक उद्धार हुनुपर्छ । कांग्रेसले समग्र पार्टी पंक्तिको मनोवैज्ञानिक उपचार (ट्रिटमेन्ट) गरेर अघि बढ्छ । हाम्राबीचमा अनेक विमतिहरू छन्, अनेकौं आग्रहहरू छन्, अनेक माग होलान् ती सबैलाई छलफल गर्दै जान सकिन्छ, जानुपर्छ तर प्रवक्ताको हैसियतमा देशभरका आमकार्यकर्तालाई मेरो आग्रह छ तपाईंहरूले मनोबल नगिराउनुस् । अहिलेको परिणाम पराजय मात्र होइन कि नवीन कार्य प्रारम्भ गरेर अघि बढ्ने ऐतिहासिक अवसर पनि हो । अब पार्टी त्यतातिर लम्कन्छ । त्यसकारण मैले यसलाई नवीन ढंगले अघि बढ्ने रूपमा ग्रहण गरेर जानुपर्छ भन्छु । जान सक्छौं । मेरो भन्नुस्, हाम्रो भन्नुस्, समग्र क्षेत्रको आवाज भन्नुस् सबैलाई सँगै लिएर जानुपर्छ । पार्टी नवीन रूपमा एकताबद्ध भएर अघि बढ्नुपर्छ । फरक–फरक ठाउँबाट उठेका आवाज छन्, सबैले चाहेको रूपान्तरण हो । सबैले चाहेको कांग्रेस सक्रिय होस्, आधुनिक होस्, कार्यकुशल होस् भन्ने हो । अब त्यतातिरको यात्रा प्रारम्भ गर्नैपर्छ ।