काठमाडौं: कुलेखानी जलाशय जलविद्युत आयोजनाको विद्युतगृहमा समस्या देखिए पछि मर्मतका लागि उत्पादन बन्द गरिएको छ । आयोजनाको दोश्रो विद्युतगृहमा समस्या देखिएपछि उक्त आयोजना मर्मतका लागि बन्द गरिएको हो ।

६० मेगावाटको पहिलो र ३२ मेगावाटको दोश्रो गरी कुल ९२ मेगावाटको कुलेखानी आयोजनाको जेनेरेटरमा समस्या आए पछि ४३ मेगावाट मात्र उत्पादन भएको थियो । उक्त आयोजनाको दोस्रो विद्युतगृहको एउटा युनिटको जेनेरेटरमा समस्या देखिएपछि २० जेठदेखि केन्द्रबाट १६ मेगावाटमात्र विद्युत उत्पादन भइरहेको थियो ।

यसको मर्मत गर्न दुवै विद्युतकेन्द्रबाट आधा–आधा उत्पादन भएको आयोजनाले जनाएको छ ।


। पहिलो पूर्ण क्षमतामा सञ्चालन गर्दा दोस्रोका लागि प्रयोग हुने आधा पानी खेर जाने हुँदा पहिलोको पनि एउटा युनिटमात्र सञ्चालन गरिएको आयोजनाले जनाएको छ ।

वर्खालागे सँगै खोला तथा नदीमा पानीको वहाव बढेकाले नदी प्रवाहमा आधारित जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बढेको हुँदा कुलेखानीबाट ४६ मेगावाट उत्पादन बन्द हुँदासमेत लोडसेडिङ गर्नु नपरेको प्राधिकरणले जनाएको छ ।

मर्मतका लागि उपकरण आपूर्तिकर्ता फुजी इलेक्ट्रिक कम्पनी जापानका प्राविधिक आगामी सोमबार आइपुग्ने हुँदा त्यसपछि मात्रै मर्मतका लागि लाग्ने समय यकिन हुने केन्द्रले जनाएको छ ।