भक्तपुरः कुवेतबाट नेपाल आएका सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा ७ जनामा संक्रमण पुष्टि भएको बताएको थियो । उनीहरु सबै कुवेतबाट आएर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र क्वारेन्टाइनमा बसेकाहरु भएको पाइएको छ ।

जेठ ३० गते कुवेतबाट नेपाल आएका सात जना महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

कुवेतबाट नेपाल आएका मोरङका ४२ वर्षीया र ४१ वर्षीया, कास्कीकी २३ वर्षीया, नवलपरासीकी २९ वर्षीया, झापाकी ३७ वर्षीया, सुर्खेतकी २८ वर्षीया र बाराकी २८ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।


संक्रमित महिलालाई आजै पाटन अस्पतालमा लगिएको कार्यालयका प्रमुख मिजारले जानकारी दिए ।

यसैगरी, कुवेतबाट नेपाल फर्किएर प्राधिकरणको तालिम केन्द्रमा बसेका अन्य ९४ जना महिलाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुलाई क्वारेन्टाइनमा बसेको १४ दिनपछि घर पठाइने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सबिन प्रधानले जानकारी दिए ।


प्रकाशित मितिः शनिबार, असार ६, २०७७, १७:३१