काठमाडौंः कुवेतमा एक निर्माणस्थलमा पुरिएर चार नेपालीको मृत्यु भएको छ । यस्तै, सो दुर्घटनामा अन्य तीन जना कामदार हराइरहेका छन् भने ३ जना गम्भीर घाइते भएका छन् ।

कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार खसेको बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर ४ नेपालीको मृत्यु भएको अरब टाइम्सले जनाएको छ ।

टाइम्सका अनुसार ३ जनाको घटनास्थलमै र एक जनाको बाहिर निकालेपछि मृत्यु भएको हो ।

निर्माणस्थलमा बालुवा र गिट्टीको थुप्रो खसेपछि मजदुरहरुलाई पुरेको थियो ।

वेपत्ता भएकाहरुको खोजी र उद्धार कार्य चलिरहेको छ । सो घटनामा मृत्यु हुने र घाइते भएकाहरुको पहिचान भने खुलेको छैन ।


कुवेतको भौतिक मामिलासम्बन्धी मन्त्री राना अल फरिसले घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गर्न निर्देशन दिएकी छिन् । उनले दुर्घटनाको कारण पत्ता लगाइ दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएकी छिन् ।


प्रकाशित मितिः बिहीबार, फागुन १, ११:५९