काठमाडौं: सामान्यतया संसद् बैठक दिउँसो बोलाइन्छ त्यसका लागि सभामुखको अनुकुल समय र सांसदहरुको सहजता हेरिन्छ, मध्यरातमा संसद्को पहिलो बैठक बोलाइयो भन्दा अचम्म लाग्ला तर २०१६ सालमा यस्तै भएको थियो ।

२०१६ साल असार १६ गते राति ११ बजेर ५५ मिनेट जाँदा संसद्को बैठक बसेको थियो । तत्कालीन राजा महेन्द्रले संसद् बैठक नबोलाउँदा ढिलो गरी बैठक चलेको थियो । राजाले बैठक बोलाउनुपर्ने थियो । तर राजाले बैठकप्रति चासो नदेखाएपछि ४ महिना ७ दिन पछि मात्र संसदको बोलाइएको नेपाल समाचारपत्रले आजको अंकमा लेखेको छ ।

‘महेन्द्रले त्यो संसद् टिकोस् भन्ने चाहनुभएको थिएन त्यसैले मध्यरातमा ‘कू’ को साइतमा बैठक बोलाइएको भन्ने सुनिएको छ’, पूर्वसांसद मञ्चका महासचिव शंकरनाथ शर्मा अधिकारीले भन्नुभयो- ‘त्यो संसद् पनि लामो समयसम्म चल्न सकेन, बीचैमा ‘कू’ गरियो, प्रधानमन्त्रीबाट बीपीलाई हटाइयो ।


।’

आज ६०औं संसद् दिवस मनाइँदै छ । पहिलो संसदीय निर्वाचन १ सय ९ निर्वाचन क्षेत्रमा भएको थियो । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, नेपाल राष्ट्रिय गोर्खा परिषद्, नेपाल प्रजा परिषद् (घन कोदालो), नेपाल प्रजा परिषद् (हलो) र संयुक्त प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका थिए ।