काठमाडौंः नेपाल नविकरणीय उर्जा परिसंघले राजधानीमा कृषिका लागि नविकरणीय उर्जा र जैविक मल बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालका किसानहरुले चाडको रुपमा मनाउँदै आएको असार पन्ध्रलाई लक्षित गरी यो कार्यक्रमको आयोजना गरिएको होे ।

परिसंघबाट आयोजित अन्तरक्रिया कार्यक्रममा उर्जा र जैविक मल बारे वक्ता तथा प्रस्तोताहरुबाट अध्ययन, अनुसन्धान र अनुभवका आधारमा कृषिका लागि नविकरणीय उर्जा प्रविधिको उपयोगिता, अवसर र चुनौतीमाथि प्रकाश पार्दै सम्वन्धित नीति निर्माताहरु र कार्यान्वयन गर्ने निकायहरुको ध्ययानाकर्षणका लागि प्रक्रिया अघि बढाउन ढिला गर्न नहुने राय व्यक्त गरेका थिए ।


कार्यक्रममा अर्थविद राजनीतिज्ञ हरि रोकाले विद्यमान अवस्थामा नेपालको कृषि व्यवसाय श्रम, सीप, लगानीका लागि उपयुक्त वातावरण नभएकोले संकटमा परेको उल्लेख गरेका छन् । कृषकहरु कृषिमा भन्दा अन्य पेशाका साथै वैदेशिक रोजगारीमा आकर्षित हुनु, लगानी र प्रतिफलको अनुपातबाट जिवन धान्नका लागि कठिन हुनु, जनसंख्या, बसाईं सराई जस्ता सामाजिक रुपान्तरण जस्ता कारणले कृषि व्यवसायलाई उच्च महत्वका साथ व्यवस्थापन गनिुपर्ने राय व्यक्त गरे। स्थानीय सीपमा आधारित वैज्ञानिक खेती, श्रमको स्तरोन्नति, सहज लगानीका साथै प्रोत्साहनका लागि अनुदानको व्यवस्था गरेर कृषि व्यवसाय सुधार गर्न सकिने उनको भनाई थियो ।

उक्त अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रष्ठिानका वरिष्ठ वैज्ञानिक डा. रबिन्द्र ढकालले जैविक अंगार (बायो चार) को अनुसन्धान सफल रहेको छ भन्ने त्यसलाई माटोको उर्वरा शक्ति बढाउन प्रयोग गर्न सकिने भएकोले कृषिका लागि फाइदा हुने निश्चित रहेको बताए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रवन्धक प्रकाश अर्यालले ठुला बायोग्यास संयन्त्रको स्थापनाबाट उत्पादित ग्यास सिलिण्डरमा भरेर भान्छामा प्रयोग गर्न सकिने भएको छ र त्यस संयन्त्रबाट उत्पादन हुने लेदो खेतीपातीका लागि उपयुक्त मल हुने भएकोले बायोग्यास संयन्त्र प्रवद्र्धन गर्दा कृषिका लागि लाभदायी हुने समेत कार्यक्रमहरु वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट तदारुकताका साथ प्रवद्र्धन गरिँदै आएको जानकारी गराए ।

यसै गरी सिँचाईको सुविधा नपुगेको खेतलाई सौर्य पम्प प्रविधिबाट सिँचाई गर्न सकिने भएकोले कृषि उत्पादन बढाउन कृषकलाई सहज हुँदै आएको बारे जिवन बैद्यले बताएका छन् । उनले अनुसार प्रविधि सस्तो र सहज भएको र ऋण र अनुदान पनि उपलव्ध हुने भएकोले कृषकहरु लाभान्वित हुँदै आएका उल्लेख गरे ।

उक्त अवसरमा महेश बहादुर बस्नेत, डा. विनोद भट्ट, किरण गौतम लगायतका वक्ताहरुले कृषि व्यवसाय सुदृढिकरण, खाद्य पदार्थ सुरक्षण, कृषकको भलाईका संदर्भमा सरोकारवालाहरुको सकारात्मक नीति तथा व्यवहारको महत्व बारे आ–आफ्नो अनुभव र धारणा व्यक्त गर्दै राष्ट्रिय धान दिवसको महत्वमाथि आफ्ना धारणा राखेका थिए ।