काठमाडौं: नेपाल एक कृषि प्रधान देश हो जहाँ विश्वमा गरिने प्रायः सबै प्रकारका बालीको खेती सम्भव छ । नेपाल क्षेत्रफलको हिसाबले निकै सानो देश हो । तर यहाँ हावापानीमा धेरै विविधता पाइन्छ । त्यसैले नेपालमा कृषि सम्बन्धि धेरै संम्भावनाहरू छन् । सम्भावना सँगसँगै चुनौती पनि उत्तिकै मात्रामा छन् । चुनौतीलाई यदि हामीले अवसरको रुपमा लिन सकिएमा पक्कै पनि नेपालमा कृषिको दिगो विकास र विस्तार गर्न सकिन्छ ।

विगत केहि वर्षदेखि कृषि योग्य जमिनमा उत्पादन बढाउन भन्दै अत्याधिक रासायनिक मल प्रयोग गरिँदै आएको छ । यसले उपभोक्तामा त प्रत्यक्ष असर गरेको छ नै, जमीनमा समेत असर पर्न थालेको छ ।


। अत्याधिक रासायनिक मलको प्रयोगले जमीनमा समेत असर पुग्दा उत्पादन घट्ने र विभिन्न प्रकारका रोगकिराको प्रकोप बढ्ने खतरा बढिरहेको छ ।

कृषि क्षेत्रको सुधारलाई लक्षित गरी विभिन्न प्रकारका प्रविधिको विकास हुँदै आएका छन् । ती मध्ये एक हो बीज बल । बीज बल जापानको  प्राकृतिक खेतीमा अग्रगामी रहेको एक कम्पनीले विकास गरेको हो । मलिलो माटो, जैविक मल, कोइला, पोषक तत्व र कागजको धुलोको प्रयोगबाट बीज बल बनाइन्छ जस भित्र कुनै प्रकारको बिउ राख्न सकिन्छ । विरुवाको किसिम हेरी त्यसमा आवस्यकता अनुसारका पोषक तत्व प्रयोग गरिन्छ । यसरी सहजताका साथ बनाउन सकिने बीज बलको फाइदा धेरै छन् । यस बीज बललाई खेतमा गाड्नु पर्दैन, बिउ उम्रन पानीको मात्रा कम लाग्छ र जमिन माथि आवस्यकता अनुसार छरी दिए पुग्छ । यस्ता बीज बल बाहिरबाट माटोको डल्ला जस्तो हुने हुँदा जनावर तथा चराहरुबाट समेत सुरक्षित हुन्छन् ।

स्थानीय स्रोतसाधन प्रयोग गरी सहजताका साथ बनाउन सकिने यस बीज बलले कृषि क्षेत्रमा हानिकारक रसायन मलको प्रयोगलाई निरुत्साहित गर्दै उत्पादनमा वृद्धि ल्याउन सकिन्छ । यसले खेतीलाई सहज बनाउन समेत मद्धत गर्छ ।