काठमाडौं: केरुङ–काठमाडौं  रेलमार्ग निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययनको काम सुरु भएको छ । पूर्वसम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिक टोली बुधबार रसुवागढी नाकासम्म आइपुगेको छ ।

काठमाडौंबाट मंगलबार स्थलगत अध्ययन सुरु गरेको चिनियाँ टोली बुधबार रसुवागढी आइपुगेको हो । अहिले भइरहेको प्राविधिक र भौगर्भिक अध्ययन रेलमार्ग निर्माणको पूर्वसम्भाव्यता अध्ययन भएको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए ।

टोलीमा भौगोलिक सहजताका लागि रेखांकन गर्ने इन्जिनियर पनि सँगै छन् । चिनियाँ पक्षले यो आयोजनालाई विश्वकै चुनौतीपूर्णमध्येको बताउँदै आएको छ ।


भौगोलिक विकटताका कारण रेलमार्ग निर्माणमा चुनौती देखिएकाले चिनियाँ प्राविधिक टोलीबाट थुप्रै विकल्पमा अध्ययन हुने र  रेलमार्ग निर्माण गर्न प्रविधिका रूपले सबैभन्दा राम्रो र आर्थिक रूपले कम खर्च लाग्ने विकल्प खोजिने प्रवक्ता उपाध्यायले बताए ।

रसुवागढीभन्दा केरुङ उचाइमा रहेको र भूकम्पका कारण पहिरो गएकाले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न सकिन्छ कि सकिँदैन भनेर पहिलो पटक प्राविधिक टोलीले अध्ययन गरिसकेको छ ।

रेलमार्गबारे पहिलो पटक अध्ययन गरेको प्राविधिक टोलीले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न सकिने निष्कर्ष निकालेको छ । चीनले केही वर्षभित्रै केरुङमा रेल ल्याउने बताइसकेको छ । तिब्बती रेलमार्ग सिगात्सेसम्म आइसकेको र सन् २०२०–२२ सम्म हिमाली उपत्यका केरुङ आइपुग्ने चीनको दाबी छ ।

समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाइमा रहेको रेलमार्गको अध्ययन प्रतिवेदन आगामी अगस्टभित्र तयार पारिसक्ने द्विपक्षीय सहमति भएको छ । कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।