जुम्लाः जुम्ला पुगेर अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि डाक्टरहरुले निषेधित क्षेत्र तोडेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका छन् ।

केसीको छातीमा समस्या देखिएपछि निषेधित क्षेत्र तोडेर अस्पताल पुर्याइएको हो ।

डा. केसीलाई अस्पताल ल्याउन नदिन प्रहरीले अवरोध गरे पनि आफूहरूले बल प्रयोग गरेर जबरजस्ती उठाएर ल्याएको उनको उपचारमा खटिएका स्वास्थ्यकर्मीले बताए। अहिले उनको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

तोडमोड नगरी तत्काल चिकित्सा शिक्षा विधेयक प्रतिस्थापन गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पठनपाठन सुरु गर्नुपर्नेलगायत माग राख्दै डा. केसी १६ गतेदेखि जुम्ला पुगेर १५ औँ अनशन बसिरहेका छन्।


यता काठमाडौंको माइतीघरमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले निषेधित क्षेत्र तोडेको छ । डा. गोविन्द केसीको माग र गंगामायाको जिवन रक्षाको माग गर्दै नेविसंघले माइतीघरको निषेधित क्षेत्र तोडेका हुन् ।