नेपाल तारा:

अपरेशनको दौरानमा अपराधमा संलग्न सस्पेक्ट र सुरक्षाकर्मीबीच अचानक जम्काभेट र सस्पेक्टबाट आक्रमण हुँदा सुरक्षाकर्मीले आफ्नो आत्मरक्षा, टिमको सुरक्षा र भिक्टिमको बचाउका लागि गरिने प्रतिरक्षात्मक कारबाही इन्काउन्टर हो । विशेष त २० औं शताब्दीतिर भारतका मुम्बई, चेन्नाई र कोलकतामा अपहरण, हत्या, हिंसा बढेपछि सुरक्षाकर्मीलाई त्यस्ता अपराध र अपराधीलाई व्यवस्थापन गर्न राज्यले दिएको अधिकार पनि हो ।

२० औं शताब्दीको सुरुतिर भारत र पाकिस्तान जस्ता देशहरूमा हत्या, हिंसा, अपहरण, फिरौती र बलत्कारजस्ता जघन्य अपराध हुन थाले र आम नागरिकमा असुरक्षाको वातावरण भयो ।


। सरकारले कानुनी व्यवस्था र समाजमा शान्ति कायम गर्न अपराध र अपराधीलाई कुनै पनि मुलाहिजा नराखी इन्काउन्टरको सुरुवात गरेको पाइन्छ ।

भारतको उत्तर प्रदेश राज्यमा सन् २०१७ मा आदित्यनाथ मुख्यमन्त्री भएपछि राज्यमा महिला तथा बालबालिका अपहरण र फिरौतीजस्ता अपराधको नियन्त्रणका लागि इन्काउन्टरमा ४० भन्दा बढी सस्पेक्टको मृत्यु र २६९ भन्दा बढी घाइते भएको प्रकाशित तथ्यांकले बताएको छ ।

अमेरिकामा १९९४ को दशकमा अपहरण, बलत्कार, फिरौती र हत्याजस्ता आपराधिक क्रियाकलापले राज्यमा दहशत पैदा गरेपछि इन्काउन्टरकै पर्यावाची जिरो टोलरेन्ट पुलिसिङको सुरुवात गरी राज्यमा शान्तिको वातावरण सिर्जना गरेका तथ्य हाम्रासामु छन् ।

जिरो टोलरेन्स पुलिसिङ सुरुमा न्युजर्सी राज्यमा लागू गरेपछि अपराधमा निकै कमी आएको थियो । अपराध नियन्त्रणमा जिरो टोलरेन्स पुलिसिङ अवधारणालाई १९८२ मा अमेरिकी अपराधशास्त्र विज्ञ जेम्स विल्सन र जर्ज केलिङ्गले फुटेको झ्याल सिद्धान्त (ब्रोकन विन्डो थ्योरी) सँग जोड्दै दि एटलान्टिक पत्रिकामा लेख प्रकाशित गरेपछि निकै प्रख्यात र चर्चामा पुग्यो । फुटेको झ्याल सिद्धान्त (ब्रोकन विन्डो थ्योरी) भन्नाले कुनै एउटा घरको झ्यालका केही सिसा फुटेका छन् र समयमै झ्यालका सिसाहरू मर्मत गरिएन भने अराजक, हुलिया तथा असामाजिक तत्वहरूले बाँकी झ्यालका सिसाहररू फुटाउने सम्भावना रहन्छ । त्यसमा अझै बेवास्ता गरियो भने घर अनैतिक क्रियाकलाप गर्ने केन्द्रका रूपमा परिणत हुन सक्छ । अन्त्यमा पूरै घर ध्वस्त हुन सक्छ ।

जेम्स विल्सन र जर्ज केलिङ्गको सिद्धान्त अनुसार अपराध जगतमा शून्य सहनशीलता भनेको प्रहरीलाई दिइने त्यस्तो पूर्ण अधिकार हो (कार्टी बेलन्ची), जसले गर्दा प्रहरीले जघन्य अपराध र त्यसमा संलग्न अपराधीलाई कुनै छुट दिने ठाँउ हुँदैन ।

यसअर्थमा अपराध र अपराधीको कोपिला लाग्नै नदिई निर्मुल नै (निप्स थिङ्ग्स इन द बड) जिरो टोलरेन्सको मर्म हो । यो सुरक्षा रणनीति पश्चिमा राष्ट्रको सुरक्षा संयन्त्रले अवलम्वन र अभ्यास गरि शान्त र सुरक्षित समाजको स्थापना गरेको पाइन्छ ।

नेपालमा इन्काउन्टरको अभ्यास

खासगरी नेपालको तराई क्षेत्रमा २०४० सालअगाडि लुटपाट, हत्या र डकैतीका घटनाहररू उल्लेख्य मात्रामा हुने गर्दथे । सीमा सुरक्षा र दुई देशबीचको सुरक्षा चुस्त पार्ने रणनीति अनुरूप संगठित अपराधी र डाँकाहररूका विरुद्ध डाँका अपरेसनको सुरुवातले डकैतीजस्ता जघन्य अपराध नियन्त्रण गरिन्थ्यो ।

२०६३ सालपछि विशेष त तराईका जिल्लाहररूमा भूमिगत समूहका नामबाट विभिन्न आपराधिक संगठनहररूको जन्म भएको थियो । अस्थिर समयको फाइदा उठाउँदै अपराधीहररू संगठित हुन थाले । खुला सिमाना र दुई देशबीचका आपराधिक समूहहररू एक भई अपहरण, बलात्कार, हत्या गर्ने कार्यहररू तीव्र रूपमा बढाउन थाले । बालक तथा महिला अपहरण गरी सीमापार पुरयाने, करौडौं फिरौती माग गर्ने र फिरौती पाए पनि नपाए पनि हत्या गरिदिने क्रम बढ्दै गयो । यसरी बढ्दै गएको आपराधिक क्रियाकलापमा नेपालको सुरक्षा व्यवस्थाले भारतसँगको समन्वयमा अपराधीहररूको खोजी र तिनीहररूलाई निस्तेज पार्न विभिन्न रणनीतिक योजना बनाउँदै त्यस्ता अपराधमा संलग्न अपराधीहररूलाई इन्काउन्टरको अभ्यास गरेको पाइन्छ ।

यस्तै अपहरण, हत्या, बाल अपहरण र फिरौती जस्ता जघन्य अपराधहररू केबल तराई क्षेत्रमा मात्रै सीमित नरही विशेषत ठूला सहर काठमाडौं, पोखरा, विराटनगर लगायत अन्य सहरमा समेत देखिन थाल्यो र त्यस्ता अपराध र अपराधीलाई व्यवस्थापन गर्न प्रहरीले काठमाडौं लगायत अन्य ठूला सहरमा इन्काउन्टरको प्रकिया अपनाई शान्ति बहाली गरे । त्यसै अनुरूप चरी, घैँटे, मनोज पुन जस्ता अपराधीहरू इन्काउन्टरको दायराभित्र आए ।

निसान अपहरण, हत्या र अपरहणकारीको मनोविज्ञान

यो अपहरण र हत्यामा अपहरणकारीबाट अपनाइएको विधि आवेश प्रेरित अपराध नभई पूर्वनियोजित लामो अभ्यास, दरिलो योजनाबद्ध सोचबाट गरिएको देखिन्छ । अपहरणको श्रृंखला, अपहरणको शैली र हत्याको शैलीलाई विश्लेषण गर्दा यो मनसाय प्रेरित अपराध हो । बच्चा अपहरणपश्चात् फिरौती माग्ने देखि आफ्नो अपराधको प्रमाण नष्ट गर्न बालक हत्याको प्रकिया अपनाइएको छ । यो केबल पेसेबर अपराधीले मात्र अपनाउन सक्छ ।

अपहरणकारीको न कुनै जात हुन्छ न कुनै वेशभूषा नै हुन्छ र न धर्म हुन्छ । हुन्छ त केबल आफ्नो असली रूप लुकाउने योजना । अपहरणकारीको सही रूप वेशभूषा, धर्म, जात र पेसाले छुट्याउन सकिंदैन । सामान्य युवाको भेषमा जघन्य अपराधी र समान्य आर्थिक अवस्था थाहा पाएका व्यक्तिले यति ठूलो आर्थिक फिरौती माग्नु पेसेवर अपराधीको रूप हो । एउटा अबोध निम्न स्तरीय परिवारका बच्चाको निर्मम हत्या भएको छ । एउटा आमाको काख उजाड भएको छ । के दोष थियो त्यो बच्चाको र तिनकी आमाको ? आमाको आँसु र पीडा बराबर अपहरणकारीको जीवन हुन सक्दैन । यस अपराधले केबल निसानकी आमाको पीडा मात्रै होइन, हरेक आमाको पीडा र रोदन छ । आउने दिनमा पनि यस्ता घटना हुने हुन् कि भन्ने दहसत पैदा भएको छ ।

यद्यपि प्रहरीको अथक प्रयास र सजगता हुँदाहुँदै पनि अपहरित बच्चाको जीवन रक्षा नहुनु अत्यन्तै दुखदाइ छ । यस पीडालाई शब्दहरूले मलमपट्टी गर्न सकिँदैन तर ती पीडित आमा र उनको परिवारको सुरक्षा र अन्य यथोचित व्यवस्था गर्नु राज्यको अहम जिम्मेवारी हो । प्रहरीले अपहरण भएको खबर प्राप्त गर्नासाथ विशेषतः अपराध माहाशाखाको टिमले सक्रियता र तदारुकताका साथ क्विक रेस्पोन्स गरी २४ घण्टाभित्र बच्चाको अपहरण पछि हत्या गरी गाडिएको स्थान र अपहरणकारीको पहिचान तथा कारबाही गरेको छ, यसले केबल काठमाडौं उपत्यकाका आमनागरिक मात्र होइन सम्पूर्ण देशवासीलाई नेपाल प्रहरी जस्तोसुकै जटिल खालका अपराध अनुसन्धानमा सक्षम छ भन्ने सन्देश दिएको छ ।

अपहरण न्यूनीकरणमा एकीकृत जनचेतनामूलक कार्यक्रम र सुरक्षा रणनीति आवश्यक

अन्त्यमा, अपहरण, फिरौती र बलात्कार जस्ता अपराध न्यून गर्न इन्टेलिजेन्स र डोमिनेटिङ पुलिसिङमा आधारित सुरक्षा रणनीति एउटा पाटो छ भने अर्कोतिर जनचेतनामूलक पाटो उत्तम हुन सक्छ । अपरणबाट बच्ने सम्बन्धमा प्रहरी, सरकार, विद्यालय र समुदायले एकीकृत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्छ । प्रहरी र समुदाय मिलेर कम्युनिटी पुलिस, प्रहरी मेरो साथी, टोल–टोलमा प्रहरी जस्ता लोकप्रिय कार्यक्रम मार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्छन् भने सरकारले कसरी अपहरणबाट बच्न सकिन्छ भन्ने विषयमा पाठ्यक्रम नै निर्धारण गरी विद्यालय मार्फत शिक्षा दिन सक्छ ।

सीसी टीभीको व्यवस्था, सामाजिक सञ्जालमा नितान्त व्यक्तिगत जानकारी उपलब्ध नगराउने, विशेष ठाउँमा सीसी टीभीको व्यवस्था गर्ने, बालबालिकालाई नचिनेको मानिससँग संगत नगराउने, व्यक्तिगत सुरक्षासम्बन्धी ज्ञान दिलाउने, आत्मसुरक्षासम्बन्धी ज्ञान प्रदान गर्ने, बच्चाहरूलाई उनीहरूले सजिलै छुट्याने र प्रयोग गर्न सक्ने कोड वा शब्दहररू सिकाउने, बच्चाले प्रयोग गर्ने सामग्रीहरू जस्तै– झोला र कपडाहरूमा उनीहरूको नाम उल्लेख नगर्ने, अपहरणकारी चिनजान वा संगतको ब्यक्ति नै हुन सक्नेबारे जानकारी दिने, बच्चाहरूलाई केही समस्या आएमा चिच्याउन, बोल्न र सहयोग माग्न सिकाउने, नचिनेका मान्छेहरुले दिएको कुनै पनि कुराहरु नलिन र नखान सिकाउने, बच्चाहरुलाई आफ्नो नाम, फोन नं., ठेगाना, बाबु–आमाको नाम राम्रोसँग सिकाउने, नचिनेको मान्छेहरूलाई आफ्नो बालबच्चा हेरचाह वा रेखदेखका लागि नछाड्ने, विद्यालयबाट बच्चा फिर्ता लिने र लैजाने मान्छेको जानकारी विद्यालयमा गराउने र बच्चाका बारेमा विद्यालयबाट जानकारी लिने जस्ता चेतनामूलक ज्ञान दिनाले अपहरण जस्ता जघन्य अपराधबाट आफ्नो बालबच्चालाई सुरक्षित राख्न सकिन्छ ।


प्रकाशित मितिः बिहीबार, साउन २४, २०७५, १७:१०