अमेरिकाको न्यूयोर्क सहर लगायत अन्य सहरमा प्रहरीले सुरक्षा व्यवस्था मजबूत पार्न अंगिकार गरेको जिरो टोलरेन्स पुलिसिंग नेपालका लागि पनि सान्दर्भिक र सार्थक हुने विशेषज्ञहरुले बताउँदै आएको छन् । सबैतिर प्रयोग र उच्चारित हुने तर बुझ्न अलि कठिन जस्तो लाग्छ शून्य सहनशीलताको नीति । यो नीतिको अबलम्बनले सुरक्षित समाज निर्माणमा सहयोग पुर्‍याएको देखिन्छ ।

शुन्य सहनशीलता त्यस्तो पद्धति हो, निर्दिष्ट ऐन कानुन तोड्ने अनुचित आचरण भ्रष्टाचारमा, कालोबजारीमा संलग्न व्यक्ति वा समूहलाई कुनै पनि खाले दवाब वा प्रभावमा (राजनीतिक, आर्थिक र पदीय) नपरी कानुनी दायरामा लिनु हो । यो पहिलोचोटी सन् १९७३ मा अमेरिकाको न्युजर्सि राज्यमा शान्त, सुरक्षित र सफा छिमेकी ऐनको सुरुवातसंगै जिरो टोलरेन्सको अवधारणा विकास भएको पाइन्छ ।


सुरुमा न्युजर्सि राज्यमा लागु गरेपछि अपराधमा निकै कमी आएको थियो । अपराध नियन्त्रणमा जिरो टोलरेन्स पुलिसिङ अवधारणालाई १९८२ मा अमेरिकी विशेषज्ञ जेम्स विल्सन र जर्ज केलिङ्गले फुटेको झ्याल सिद्धान्त (ब्रोकन विन्डो थ्योरी) सँग जोड्दै दि एटलान्टीक पत्रिकामा लेख प्रकाशित गरेपछि निकै प्रख्यात र चर्चामा पुग्यो । फुटेका झ्याल सिद्धान्त (ब्रोकन विन्डो थ्योरी) भन्नाले कुनै एउटा घरको झ्यालका केही सिशा फुटेका छन् र समयमै झ्यालका सिशाहरु मर्मत गरिएन भने अराजक, हुलिया तथा असामाजिक तत्वहरुले बाँकी झ्यालका सिसाहरु फुटाउने सम्भावना रहन्छ । त्यसमा अझै वेवास्ता गरियो भने घर अनैतिक क्रियाकलाप गर्ने केन्द्रका रुपमा परिणत हुन सक्छ । अन्त्यमा पुरै घर ध्वस्त हुन सक्छ ।त्यस्तै अर्को उदाहरणको लागि सडकको कुनै कुनामा रहेको फोहोर समयमै हटाएनौं वा सफा गरेनौं भने अन्य व्यक्तिहरुले पनि सो ठाँउमा फोहोर फ्याँक्दै जादाँ फोहोरको डंगुर हुन जान्छ ।

जेम्स विल्सन र जर्ज केलिङ्गको सिद्धान्त अनुसार अपराध जगतमा शून्य सहनशीलता भनेको प्रहरीलाई दिइने त्यस्तो पूर्ण अधिकार हो (कार्टी बेलन्ची ),जसले गर्दा प्रहरीले जघन्य अपराधदेखि सामान्य खाले अपराधलाई पनि कुनै छुट दिने ठाँउ हुँदैन ।

यो मान्यताअनुसार स साना अपराधलाई पनि प्राथमिकताका साथ निर्मूल पारिन्छ, ताकि अपराधिको मनोवल उठ्न नपाओस् । ठूला अपराध होला र कानुनी कारवाही गरौंला भन्ने सोच राखी साना अपराधलाई कानुनी दायरामा नलिएमा जसरी घरको एउटा सिसा फुट्दा समयमै मर्मत गरिएन भने पुरै घर ध्वस्त हुन्छ, त्यस्तै साना अपराध र अपराधीलाई नजर अन्दाज गरेमा सोही व्यक्तिले ठूला ठूला जघन्य घटना घटाउन सक्छन् । त्यसकारण अपराध र अपराधीको कोपिला लाग्नै नदिई निर्मूल गर्नु नै (निप्स थिङ्गस् इन द बड) जिरो टोलरेन्सको मर्म हो ।

अर्थात थ्री एस पुलिसिङ्ग

पहिलो एस : यो चरणमा गुन्डाहरुको स्क्रेनिङ्ग गरिन्छ । तथ्यहरुको संकलन र अनुसन्धान वा छानविन हुन्छ ।
दोस्रो एस : कानुन विपरित कुनै पनि अपराध नगर्नको लागि मनोवैज्ञानिक काउन्सिलिङ गरिन्छ र जनचेतना पनि प्रदान गरिन्छ ।
तेस्रो एस : यो कठोर चरण हो । जसलाई सुटआउट भनेर पनि बुझिन्छ । जसले हतियार लिई तर्साउने, मानिस मार्ने, हतियारको भरमा अपहरण, चन्दा असुली, बलात्कार गर्छ,

त्यस अवस्थामा आत्मरक्षा तथा आम नागरिकको जिउधनको सुरक्षाका लागि चालिने कठोर कदम हो ।नेपाल प्रहरीका बोल्ड व्यक्तित्वहरु सर्वेन्द्र खनाल, पुष्कर कार्की जस्ता उच्च अधिकृतहरु फेसबुके प्रचारमा मात्र रमाएका छैनन् । आफ्नो व्यक्तिगत र पारिवारिक सुरक्षा थ्रेटलाई गौण राखी आम नागरिकको जनधनको सुरक्षालाई सर्वोपरि मानेर गुण्डा नाइके विरुद्ध थ्री एस अवधारणाअनुसार साहसिक र सफल अप्रेशन चलाएका छन् । त्यसले सिंगो नेपाल प्रहरी संगठनको छवि र मनोबललाई उच्च बनाएको छ । आम नागरिकको भरोसा गर्न लायक संस्था नेपाल प्रहरी बन्दैछ ।

सन् १९९४ मा अमेरिकाको न्युयोर्क सहरमा लागु औषध, हातहतियारको प्रयोगबाट लुटपाट, अपहरण हत्या र संगठित अपराध लगायत साना अपराध र समाजिक अराजकता फैलाउने अपराध जस्तै खुला मदिरा सेवन सार्वजनीक पिशाब गर्ने अश्लिल चित्र र प्रर्दशन, तोडफोड, मादक पदार्थ सेवन गरी सवारी चलाउने, जवरजस्ती भिख माग्नेका कारण आम नागरिकको असुरक्षा बढ्यो ।

त्यो अवस्थामा अमेरिका न्यूयोर्क सहरका तत्कालिन पुलिस कमिश्नर बिलियम विल ब्राटनले व्रोकन विन्डो थ्योरीलाई आधार मान्दै शुन्य सहनशीलता पुलिसिङ्गको सुरुवात गरेका थिए । जसले अपराधमा भारी गिरावट आएपछि अमेरिकी जनताले शुन्य सहनशीलता र पुलिस कमिश्नर बिल ब्राटनलाई प्रयायवाची शब्दले बुझ्ने गर्दछन् । अपराध नियन्त्रणका क्षेत्रमा शुन्य सहनशीलता प्रयोग गरिनु भनेको अपराधिलाई कुनै परिवेशमा छुट्न नदिनु हो ।

अर्को अर्थमा भन्नु पर्दा कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु र अपराध र अपराधी विरुद्ध कडा रुपमा प्रस्तुत हुनु हो । सामान्यतया प्रहरी सामान्य अपराध र विकृति विरुद्ध कम केन्द्रीत हुने गरेको र ठूला अपराधमा मात्र बढी केन्द्रीकृत भएको पाइन्छ । त्यसकारण सामान्य लाग्ने खालका अपराधबाट समाज अक्रान्त बन्न पुगेको छ। कार्य क्षेत्रमा खटिने प्रहरी अधिकृत तथा जवानबाट ठूलो खाले अपराधमा मात्र होईन, सानामा पनि निर्मूल पार्न केन्द्रिकृत हुनु शुन्य सहनशीलताको मर्म हो । किनभने सामान्य घटना नियन्त्रण गरी न्याय स्थापित गर्दै गएमा ठूला अपराध रोक्न सकिन्छ ।

समग्रमा भन्नु पर्दा ठूला अपराधले मात्र समाजमा असर पारेको नभई साना अपराधले पनि समाजको ठूलो हिस्सालाई असर पारेको हुनसक्छ । जस्तै, मदिरा सेवन गरि होहल्ला गर्ने, वेश्यावृति, जुवातासले एउटा परिवारमा मात्र होइन टोलवासीलाई सास्ती पुर्याएको हुनसक्छ । जुनसुकै बाहनामा मुख्य राजमार्ग र सडक अवरुद्ध गर्दा समग्र समाज र मुलुकलाई नै असर गर्दछ । त्यसकारण पनि प्रहरीले शुन्य सहनसिलता अपनाउनुपर्छ ।

भरपर्दो अपराध नियन्त्रण कार्ययोजना बनाई ‘हट क्राइम स्पट’को पहिचान गरि भ्रष्टाचार, अपहरण, सफेदपोसी अपराध, लागु औषध, हतियार ओसारपसार, सवारी साधन चोरी, ट्राफिक नियम उल्लंघन, महिला हिंसा, दलित माथि हुने दुव्र्यवहार, घरेलु हिंसा, लैगिक भिन्नताको आधारमा हुने अपराध, दण्डहिनता जस्ता अपराध निर्मुल पार्न शुन्य सहनशीलता पुलिसिङ्ग उत्तम माध्यम हो ।

‘गुणस्तरीय जीवन’ का नाममा हुने खानेवालाहरुले देखाउन प्रवृतिले गर्दा अपराधहरु भैरहेका छन् । ठूलठूला पार्टीको आयोजना गरि मादक पदार्थ सेवन गरि हो हल्ला गर्ने, अनियन्त्रित सवारी साधन चलाउने, सार्वजनिक ठाउँमा जम्मा भई हो हल्ला गर्ने उत्तेजक फोटाहरु टास्ने, नाराहरु लेख्ने र समाज, संस्कृति र सामाजिक मुल्य मान्यतालाई आधुनिकताको नाममा पाश्चात्य संस्कृति जो पश्चिमा देशले पचाउन नसकेको पाइन्छ । तर, त्यस्ता सामाजिक विकृति, संस्कार र फेशन नेपाली परिवेशमा देखा पर्न थालेका छन् ।

आफ्नो संस्कृति र संस्कारलाई समेत नष्ट पार्ने खालका कृयाकलाप जस्तै युवा तथा युवतीले नाइटो, मुख, जिब्रो, आँखीभौ र संवेदनशिल अंगहरु छेडी मुन्द्रा लगाउनेले अवश्य पनि सभ्य र परिस्कृत समाजको पहिचान दिदैन। त्यतिमात्रै होइ, विशेष गरेर यस्ता किसिमका हुलिया भएका अधिकांश व्यक्तिहरु लागुऔषध तिर उन्मुख भएको पाइएकाले यस्ता कृयाकलाप विरुद्ध पनि शुन्य सहनशीलता अपनाउनु पर्ने देखिन्छ । यसरी अपराध विरुद्ध शुन्य सहनशीलताको नीति सहि तरिकाले कार्यान्व्यन गरे समाजमा पक्कै पनि अपराध न्यूनिकरण गर्न सकिने कुरा विकसित देश अमेरिका/अष्ट्रेलिया लगायत अन्य देशमा गरेको प्रयोगबाट देखाएको छ ।

सुरक्षित वातावरण निर्माण गर्न नेपाल प्रहरीले आफूलाई क्रियाशील तुल्याउदै छ । अपराधलाई निर्मुल पार्न, वैज्ञानिक सोचमा आधारित दिर्घकालिन रणनीति सकारात्मक सोच, भरपर्दो सुचना संयन्त्रको निर्माण र फिल्डमा खटिने अधिकृत तथा जवानलाई अधिकार र निर्णायक भुमिका गर्नसक्ने वातावरणको सिर्जना हुन जरुरी छ । सुचना प्रविधिको द्रुत विकासले संसार सानो गाउँ भएको छ, अपराध गर्ने शैलीमा नयाँ नयाँ तरिका देखा परेको छ ।

अपराध र अपराधकर्मी, राष्ट्रिय र अन्र्तराष्ट्रिय संजालको संगठित समुहबाट अपहरण, फिरौती लगायत सभ्य समाजलाई त्रास आतंकति पार्ने खालका क्रियाकलाप बढिरहेका छन् । यस्ता अपराध र अपराधीलाई निर्मुल पार्न वेलायत, अमेरिका, भारत लगायत अन्य विकसित देशहरुमा अर्धन्यायिक अधिकारसहितको महानगरिय प्रहरीको अवधारण लागु गरि अपराध नियन्त्रणमा ठूलो फड्को मारेका छन् । मुलुक अब संघियतामा प्रवेश गरिसकेको अवस्थामा नेपा प्रहरी पनि संघिय संरचना बारे व्यापक तयारी मात्रै होइन, नेपालको परिवेशमा कुन मोडलको संघिय संरचना बढि व्यबहारिक बैज्ञानिक र प्रयोगमा ल्याउन व्यक्ति विशेषमा केन्द्रित भन्दा पनि संस्थाको हितमा हुनु पर्ने खालको कार्यान्व्यन हुनुपर्ने देखिन्छ ।

संघिय प्रहरी र अर्धन्यायिक अधिकार सहितको महानगरिय प्रहरीका लागि आवाश्यक तालमेल र पूर्वाधारको व्यवस्था गरि यथासिघ्र कार्यान्व्यन गर्नुपर्ने अपरिहार्यता पनि छ ।
महानगरिय प्रहरीको सुरुवात गरिसकेको लामो समय भएतापनि केवल सैद्धान्तिक सहमतिमा मात्र सिमित रहन पुगेको छ । त्यसकारण आधुनिक साधन स्रोतले सम्पन्न अर्धन्याययिक अधिकार सहितको महानगरिय प्रहरीको सुरुवात यथासिघ्र गर्न जरुरी छ ।

मानवअधिकारको आधारभूत मूल्य र मान्यतालाई उच्च सम्मान गर्दै कानुन सम्मत अधिकारको प्रयोग गर्दै जघन्य अपराध र अपराधीविरुद्धको जिरो टोलरेन्स पुलिसिंगको अवधारणालाई अब व्यवहारमा प्रभावकारी रुपमा उतार्न ढिलो गर्नु हुँदैन।

(लेखक नेपाल प्रहरीका पूर्व वरिष्ठ उपरीक्षक विक्रम सिंह थापा पूर्ण शान्ति पुरस्कारबाट सम्मानित छन्। )