ब्रिकम सिंह थापा

संघीय राज्य प्रणालीमा आन्तरिक सुरक्षा व्यवस्थापन केन्द्र र प्रदेश सरकारको आ-आफ्नो भुमिका रहन्छ। केन्द्रले प्रदेशको विशेष परिस्थिति, समन्वय, कमान्ड कन्ट्रोल, नीति निर्माणको भूमिका गर्दछ भने अन्य अवस्थामा प्रदेश सरकारले आफ्नो सुरक्षा व्यवस्था मिलाउँछ । भर्खर मात्रै संघीयताको अभ्यास र शिसु अवस्थामा रहेकोले नयाँ खालका सुरक्षा चुनौतीको सामना र व्यवस्थापन गर्नु सरकारको थप चुनौती हुन सक्छ।

विभिन्न जात, वर्ग, समुदाय र राजनीतिक विचारधारा बोकेका समूहले आफ्ना मागहरु राखी प्रचलित ऐन कानुनलाई चुनौती दिदैँ नागरिक अवज्ञा गर्न सक्छन्।राज्यको आन्तरिक सुरक्षा व्यवस्थापनलाई कुनै निश्चित रुपबाट परिभाषित गर्न सकिदैन तापनि राज्यले विविध आन्तरिक द्वन्द्वबाट लोकतान्त्रिक शासन व्यवस्थालाई संरक्षण, विकास गरी मजबुद पार्नु हो।


। परिर्वतित राजनीतिक सामाजिक परिस्थिति तथा बिकसित संचार संजालका कारण सम्पूर्ण संसार एउटा सानो गाउँ भएको र अपराध गर्ने शैलीमा पनि परिवर्तन आएकोले आन्तरिक सुरक्षा व्यवस्थामा नयाँ खालका चुनौतीहरु देखा पर्नु स्वभाविकै छ।

नेपाल प्रहरीले यस्ता चुनौतीलाई व्यवस्थापन गर्नुका अलवा संघीय लोकतन्त्रमा समाजमा व्याप्त भेदभाव, कानुनी, राजनीतिक त्रुटि,जातीय, क्षेत्रीय र भाषिक र तीनको सुधारको लागि आम नागरिकको सहभागितामा गरिने नागरिक अवज्ञा आन्दोलनको व्यवस्थापनमा प्रहरीले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने हुन्छ।

असंवैधानिक,अनैतिक, अव्यवहारिक, कठोर सर्वसत्तावादी चरित्र, ढोंगी नियम कानुन र संस्थागत भष्ट्राचार लगायत अन्य विविध सामाजिक कुरीतीका कारण आम नागरिक तथा ठुलो जनसमुदाय प्रचलित ऐन कानुनको परवाह नगरी बर्खिलाप गरि जस्तो सुकै सजाय वा दण्ड भोग्न तयार भएर विरोधमा उत्रिन्छन्। भारतीय स्वतन्त्रता संग्राममा महात्मा गान्धीले साल्ट सत्याग्रह र व्रिटिस शासकले लगाएको कर नर्तिन आम नागरिकलाई आग्रह गर्दै अहिंसात्मक आन्दोलनबाट भारत स्वतन्त्र भयो। १९७० को दशकमा भारतीय लोकप्रिय नेता जयप्रकाश नारायणले खराब शासन व्यवस्था, प्रजातन्त्रको शुरक्षा, शक्ति विकेन्द्रिकरण, भष्ट्राचार, स्वतन्त्र निर्वाचन जस्ता विषय हरुमा नागरिक अवज्ञा आन्दोलनबाट परिर्वतन भएका ताजा उदाहरणहरु हाम्रो अगाडि छन्।

नागरिक अवज्ञा आन्दोलन सर्वोतम प्रभावकारी माध्यम वा शक्ति हो, जसले सजिलोसँग विनाहिंसा सामाजिक रुपान्तरण मात्र नभएर व्यापक परिवर्तनलाई संभव तुल्याउन सक्छ। वास्तवमा नागरिक अवज्ञा आन्दोलन प्रचलित ऐन कानुनको बर्खिलाप हुने भएकोले गैरकानुनी कार्य पनि हो र यो अहिंसात्मक माध्यमबाट समान सोच धारणा र उद्देश्य भएका व्यक्ति वा समुहबाट समाजमा व्याप्त कमिकमजोरीको कारण उत्पन्न शान्तीपूर्ण आन्दोलन हो।

महात्मा गान्धीको भनाइअनुसार नागरिक अवज्ञा आन्दोलन नागरिक अवज्ञा गर्ने व्यक्ति वा समुहको सोचमा विवेकपूर्ण कार्य र जानी–जानी सरकारलाई दिइने चुनौति पनि हो। सरकारबाट बनाइएका कानुन जनमुखी नहुनु, धार्मिक तथा नागरिक स्वतन्त्रता नहुनु, सामाजिक सुधारका कार्य नहुनु, पुराना रितिरिवाज र कुसंकारमा समानुकुल परिर्वतन नगरी जबरजस्ती कार्यन्वयन ल्याउन खोज्नु, अपर्याप्त र अस्पस्ट पुराना कानुन, समुदायलाई न्याय दिने खालका नियम कानुन नहुनु, महिला अपाङ्ग, दलित र पिछडिएका जातजाती वा व्यक्तिहरुलाई राहत हुने खालका कार्यक्रम वा सम्मानजनक व्यवस्था नहुनु ।

नियम कानुन किताबमा मात्र लेखिनु, कार्यान्वयन नहुनुबाट प्रभावित नागरिकले गरिने शान्तिपूर्ण अहिंसात्मक आन्दोलन हो। नागरिक अवज्ञा लोकतान्त्रिक देशमा अन्यायलाई उजागर गर्ने एक मात्र स्वतःफुर्त, अनियोजित, पूर्ण निष्ठा पूर्वक बिना पूर्वाग्रह र रचनात्मक सोच भएका नागरिकहरुको ठुलो समुह हो। यसै सोचलाई मान्यता दिदै ‘एच जोनसन’ ले भनेका छन्, ‘यदि नागरिक अवज्ञा आन्दोलन व्याप्त सामाजिक, धार्मिक र राजनीतिक कुरितीलगायत समाजको अहित हुने क्रियाकलापविरुद्ध रचनात्मक रुपान्तरणको लागि भएका छन् भने त्यस्तो अवस्थामा प्रहरीको आफ्नो दायित्व अत्यन्तै संवेदनशिल हुने भएकाले त्यस परिस्थितिलाई सुन्दर तरिकाले व्यवस्थापन गर्न प्रहरीले आफ्नो ‘एडमिनिसट्रेटिभ क्लिनिकल सेन्स ‘ को उच्चतम रुपमा उपयोग गर्नुपर्ने हुन्छ अन्यथा प्रहरी नै समाजबाट बहिस्कार हुन जाने परिस्थिति सिर्जना हुन सक्छ।

प्रहरी समुदायको संरक्षक तथा कानुन परिपालनको संयन्त्र र जनताको सेवक भएको कारण नागरिक अवज्ञा आन्दोलनको व्यवस्थापन अत्यन्त संवेदनशिल भएर गर्नुपर्ने हुन्छ । त्यसकारण प्रहरीले नागरिक अवज्ञा आन्दोलनको व्यवस्थापन गर्ने दौरानमा निश्पक्ष रेफ्री को भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। नागरिक अवज्ञा आन्दोलन एउटा सामुद्रिक तुफान हो र त्यस्तो तुफानको बीचमा खडा भै कुनै पनि बाधा अडचनहरु र द्वन्द्वको परिस्थिति सिर्जना हुन नदिई व्यवसायिक ज्ञान कला र कौशलताको प्रर्दशन गर्दै सुन्दर तरिकाले व्यवस्थापन गर्नुपर्ने हुन्छ। भीड व्यवस्थापन विज्ञ ‘जोसेफ लोम्यान’ काअनुसार नागरिक अवज्ञा आन्दोलनको व्यवस्थापन गर्दा प्रहरीले हमेशा निष्पक्ष व्यवसायिक र वैज्ञानिक सोचको को प्रर्दशन गर्दै उत्तेजनामा नआई संयम, धर्यता अपनाई ,उत्तेजनात्मक खालका समाचार र अफबाहको नियन्त्रण गर्दै इन्टेनसिटी रिडकसन, च्यानलाइजेसन, सरप्राईज, सिम्लीसिटी, न्यूटालिटी कम शक्तिको प्रयोगजस्ता उपाय वा विधिहरुको प्रयोग गर्दै शान्ति र सु–व्यवस्थाको पुनःस्थापना गर्नु नै मुख्य लक्ष्य मान्नुपर्ने हुन्छ।

समग्रमा भन्नुपर्दा २१ औं शताब्दीमा नेपाल प्रहरीका सामु देखा परेका सुरक्षा चुनौतीलाई व्यवस्थापन गर्दै सुन्दर, शान्त र लोकतान्त्रिक नेपालको परिकल्पनालाई साकार पार्ने समाजमा जस्ता अपरिहार्य विषयलार्ई उपद्रव, अपराध तथा अपराधि भष्ट्राचार, संगठित अपराध र गुण्डागर्दी जस्ता गलत कार्यतत्वबाट सुरक्षित राख्नु पर्ने अवस्था छ। यस्ता चुनौतीहरुलाई सामना र सुन्दर तरिकाले व्यवस्थापन गर्न सुरक्षा संयन्त्रलाई बढी वैज्ञानिकीकरण, आधुनिकिकरण, व्यवसायिक दक्ष, परिस्कृत व्यवहार तथा आचरण उच्च मनोवल नयाँ टेक्नोलोजीमा सक्षम र सबै खाले हस्तक्षेपबाट अलग र केही अर्धन्यायिक अधिकार समेत प्रदान गर्नुपर्ने देखिन्छ।

(लेखक नेपाल प्रहरीका पूर्व वरिष्ठ उपरीक्षक विक्रम सिंह थापा पूर्ण शान्ति पुरस्कारबाट समेत सम्मानित छन्। )