कैलालीः मोहन्याल गाउँपालिका–७ स्थित पितमारी बजारबाट बाघको छाला १ थान, खप्पर १ थान, बंगरा १ थान र जुंगा सहित प्रहरीले एक जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेख आठबिस नगरपालिका–३ बस्ने ४९ वर्षीय बिनी प्रसाद जैशी रहेका छन् ।

विशेष सूचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारी उनको झोला जाँच गर्दा उक्त छाला लगायतका वस्तु फेला पारी पक्राउ गरेको हो ।

बरामद सामान सहित उनलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय चिसापानी बुझाइएको संघीय प्रहरी इकाई कार्यालय धनगढीले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल चैत १६ गते सोमबार, १०:२३