काठमाडौंः प्रहरीले आज कैलाली र बाँकेबाट अवैध लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

कैलालीको जोशीपुर गाउँपालिका–२ मिलनटोलबाट अवैध लागूऔषध करिब २० ग्राम १ सय ४० मिलीग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३२ वर्षीया अनिता भाटलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

अनिताले घरमा अवैध लागूऔषध खैरो हेरोईन लुकाई राखेकी छन् भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय सूर्यपुरबाट खटिएको संयुक्त प्रहरीले उनको घर तलासी गर्नेक्रममा ग्याँस चुलो राख्ने र्‍याकमा प्लाष्टिकभित्र लुकाइ राखेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।


यसैगरी, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ लोहियान पुरुवाबाट अवैध लागूऔषध ४ ग्राम ९ सय मिलीग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय वचाउ लोहनियालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १४ गते बुधबार, १७:१४