काठमाडौंः कैलाली र सुर्खेतबाट अवैध लागूऔषध सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ विशालनगरबाट २ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ बित्थडचिर गाउँपालिका–२ बस्ने २५ वर्षीय करन बोहरा र सोही ठाउँ बस्ने ३२ वर्षीय जय बहादुर बोहरा रहेका छन् ।

अवैध लागूऔषध चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको चरेश सहित फेला पारी पक्राउ गरेको हो ।


उनीहरु माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसैगरी, सुर्खेतको गुर्भाकोट नगरपालिका–७ गोचे खोलाबाट ५० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तु सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका–१२ बस्ने २१ वर्षीय प्रकाश शाही र सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेश कडेल रहेका छन् ।

इलाका प्रहरी कार्यालय छिन्चु र अस्थाई प्रहरी पोष्ट जहरेबाट खटिएको प्रहरीले भे ९ प ५७७२ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त बस्तु सहित फेला पारी मोटरसाइकलमा आएका शाही र मोटरसाइकल चालक कडेललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १० गते शुक्रबार, १६:५६