काठमाडौंः नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले ५ हजार मास्क सहयोग स्वरुप प्रदान गरेका छन् ।

पूर्व मन्त्री ढकालले कोभिड–१९ युनिफाइड कमाण्ड हस्पिटल, बलम्बुका लजिस्टिक प्रमुख डा. रुपक महर्जनलाई मास्क हस्तान्तरण गरिएको कार्यक्रममा सहभागी परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए ।

पूर्व मन्त्री ढकालले नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि अस्पताल सञ्चालन भएकोमा खुशी ब्यक्त गर्दै विश्व महामारीको विरुद्ध लड्न सबैको सहयोग तथा एेक्यबद्धता आबश्यक रहेको बताए ।

संविधान सभाका सभासद समेत रहेका ढकालले सम्पूर्ण स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ सेवा प्रदान गर्न प्रोत्साहित गर्दै आफू र आफ्नो पार्टीले आवश्यक परेको बेला जस्तोपनि सहयोग गर्न तत्पर रहेको उल्लेख गरे ।


हस्पिटलको लजिस्टिक प्रमुख डा. महर्जनले सहयोगको लागि आभार व्यक्त गर्दै माक्सको उचित सदुपयोग गरिने बताए ।


प्रकाशित मितिः बुधबार, वैशाख ३, १८:४२