विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा प्रायः सबै गतिविधि ठप्प रहेको छ ।

चीनबाट सुरु भएको यो भाइरस युरोपेली राष्ट्रमा द्रुत गतिमा फैलिएपछि विश्वका चर्चित फुटबल लिगहरु समेत ठप्प रहेको हो ।

युइएफए च्यापिम्पयन्स लिग, युरोपा लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’ र इंग्लिस प्रिमियर लिग अप्रिलसम्मका लागि स्थगित भइसकेका छन् । अब यसमा जर्मनीको जर्मन बुन्डेस लिगा र फ्रान्सको फ्रेन्च लिग वान पनि स्थगित भएको छ ।

फुटबल मात्र नभई अन्य खेलकुदका अन्य गतिविधि पनि कोरोना भाइरसका कारण ठप्प बनेका छन् ।

फुटबलको सर्वोच्च निकाय (फिफा) र एशियाली फुटबल महासंघ (एएफसी) को संयुक्त बैठकले विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरसका कारण एशियामा तय भएका विश्वकप छनोट–२०२२ र एएफसी एशियन कप छनोट–२०२३ को खेल हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।


यसअघि नै बंगलादेशमा हुने तय भएको एसियन भलिबल कन्फिडेरेस (एभीसी) भलिबल च्याम्पियनसिप रोकिएको छ । बक्सिङका धेरैजसो प्रतियोगिताहरु रोकिएका छन् ।

कोरोना भाइरसका कारण नेपालमा पनि विभिन्न राष्ट्रिय खेल गतिविधिहरु तत्कालको लागि स्थगित गरिएको छ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तत्कालका लागि हुने तय भएका खेलकुद प्रतियोगिता नगर्न भन्दै विज्ञप्ति जारी गरेसँगै खेल गतिविधि रोकिएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण, उपमेयर कप महिला लिग फुटबललगायतको खेलकूद गतिविधि तत्कालको लागि स्थगित गरेको छ ।


प्रकाशित मितिः आइतबार, चैत २, ११:२३