काठमाडौंः अमेरिकामा कारोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

मृत्यु हुने ११ जना वासिङ्टन राज्यका रहेका छन् भने एक जना क्यालिफोर्नियाका रहेका छन् ।

वासिङ्टनमा देखिएको संक्रमणका धेरै बिरामी सियाटलको किर्कल्याण्डमा रहेको एउटा नर्सिङ सेन्टरसँग सम्बन्धित रहेका छन् । त्यहाँ नै ६ जनाको मृत्यु भएको छ ।

विभिन्न १६ राज्यमा २ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित संख्यामा वृद्धि हुन थालेपछि ह्वाइटहाउसले देशैभर कोभिड–१९ को परीक्षण विस्तारगर्ने घोषणा गरेको छ ।

यता, अमेरिकी राज्य टेक्सासमा १४ संक्रमित फेला परेसँगै अमेरिकामा यस रोगबाट संक्रमित हुनेको संख्या १ सय २९ पुगेको छ ।


यसैगरी, कोभिड–१९ को संक्रमणबाट स्विजरल्यान्ड र बेलायतमा एक एक जनाको मृत्यु भएको छ ।

स्विजरल्यान्डका स्वास्थ्य अधिकारीहरुका अनुसार बिहीबार ७४ वर्षीय एक महिलाको भाइरसको संक्रमणबाट मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो । ती महिला हालसालै इटाली घुम्न गएको हुँदा त्यतै ‌संक्रमण भएको आशंका गरिएको छ । आज बिहानसम्म स्विजरल्यान्डमा १२० जनामा संक्रमण देखिएको छ ।

त्यस्तै बेलायतमा पनि बिहीबार एक जना महिलाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । बेलायती स्वास्थ्य अधिकारीहरुका अनुसार ७० वर्षीय ती महिलालाई बुधबार अस्पताल भर्ना गरिएको थियो । बेलायतमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ११६ पुगेको छ ।

विश्वभर हालसम्म ३ हजार ३ सय ८५ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ भने ९८ हजारभन्दा बढी संक्रमित बनेका छन् ।

हालसम्म विश्‍वका ८० भन्दाबढी देशमा फैलिएको कोभिड–१९ बाट चीनमा मात्रै ३ हजार ४२ जनाको मृत्यु भएको छ । यस्तै, चीनमा ८० हजार ५ सय ५२ जना संक्रमित भएका छन् ।


प्रकाशित मितिः शुक्रबार, फागुन २३, १०:१६