संसद जनताको प्रतिनिधिमूलक संस्था हो । त्यो, आफूखुसी जे मनलाग्यो त्यही अन्टसन्ट बक्ने हाम्रा टोल छिमेकको चिया पसल वा गफ लडाउने अड्डा होईन । त्यसमाथी देश, जनता र संसद्प्रति जवाफदेही हुनुपर्ने कार्यकारी प्रमुखले जनताको प्रतिनिधिमूलक संस्था- संसदमा आफ्नो धारणा राख्दा त्यसको मान, मर्यादा र गरिमाको खयाल राख्नै पर्छ र अरु भन्दा बढी जिम्मेवार र जवाफदेही रुपमा प्रस्तुत हुनुपर्दछ ।

तर प्रधानमन्त्री ओलीले संघीय संसदको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा राखेका धारणाले जनताको सर्वोच्च थलो संसद, मुकुकको नीतिनिर्माण गर्ने ठाउँ हो कि हास्य बिनोदको गर्ने थलो ? प्रश्न खडा गरिदिएको छ ।


“कोरोनाभाइरस भनेको एउटा रुघाखोकी जस्तो हो । लागिहाल्यो भने हाँच्छियु साँच्छियु गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ ।” भन्ने अभिव्यक्ति र  नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बढि छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दावी, उनको भजन मण्डलीले प्रचार गरे जस्तो कोरोना संक्रमितले कसरी उच्च मनोबल राख्ने भन्ने सन्दर्भसंग जोडिएको भन्दा पनि तथ्य, तथ्यांक र बैज्ञानिक सत्य भन्दा बिपरित हावादारी, आधारहीन र गैरजिम्मेवारपूर्ण छ भन्ने प्रमाणित भैइसकेको छ ।

नेपालमा कोरोना कडा छैन, आत्तिनु पर्दैन, यसबाट कोही मर्दैन भन्दै आएका प्रधानमन्त्री ओलीले कोरोनाको सुरुवाती संक्रमण ताका गरेको टिप्पणी र तातोपानीले हात धुनुस् फ्याटीय तत्व मरेर जान्छ भन्ने दाबीले जग हँसाई गरेकै थियो ।

कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भईसकेको छ तर प्रधानमन्त्री ओली कोरोनाले मृत्यु भएकै होइन भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिदैं हिडिरहेका छ्न् । देशको कार्यकारी हैसियतका प्रधानमन्त्री त्यसरी गैर जिम्मेवार रुपमा प्रस्तुत हुनु भनेको आम जनताको अगाडि नाङ्गिनु हो ।

कोरोना संक्रमणले सिङ्गो संसार नै आक्रान्त भएको र  मुलुक लकडाउनको अन्तहीन पीडाबाट गुज्रिरहेको बेला प्रधानमन्त्री जस्तो जिम्मेवार ब्यक्तिले यस्ता सस्ता, सामान्य र हल्का फुल्का टिप्पणी गर्दै हँसी मजाक गर्ने  र आफ्नो विज्ञता नभएको विषयमा प्रवचन छाट्ने बेला पटक्कै  होईन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा संघीय संसदमा राखेको धारणाले रोम जल्दा बाँसुरी बजाएर बस्ने शासक नेरोको झल्को दिएको छ ।

संसद, खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो हो भन्ने स्कुलीङबाट आएका प्रधानमन्त्रीले जाने बुझेरै संसदीय ब्यबस्थाको खिल्ली उडाउन त्यसो गरेका हुन् वा म जे बोल्छु त्यही मात्रै सत्य हो र बाँकी सारा जगत मिथ्या भन्ने अहं र भ्रममा परेर त्यसरी मनपरि बकबक गर्दै हिडेका नै किन नहुन्, उनका ती सबै खाले हर्कतहरुबाट कोरोना संक्रमितको मनोबल बढेको छैन बरु उल्टै संसदीय ब्यबस्था र पद्धति कै उपहास भएको छ ।

प्रधानमन्त्री भनेको कुनै खास पार्टीको मात्र होईन सिङ्गो देश र जनताको लिडर हो । उनी सबैको रोल मोडल पनि हुन् । आखिर उनकै सिको सबैले गर्ने हुन् । त्यसैले उनले अन्टसन्ट बोल्ने होईन, तौलितौली बोल्नु पर्ने र फुकि फुकि कदम चाल्नु पर्ने हो ।

कोरोना, सडक आन्दोलन, भ्रष्टाचार, लकडाउन लगाएतका जनसरोकारका मुद्दामा भन्दा पनि हिमाली हावा, यार्सा र बेसारपानीमा प्रवचन दिने र तथ्य र तथ्यांकको वास्तै नगरी जनतालाई गलत सूचना दिदै हिड्ने प्रधानमन्त्रीको भद्दा मजाकले जनतामा थप निराशा र आक्रोश मात्रै पैदा गरेको छ ।

संसद होस् वा अन्यत्र कतै, प्रधानमन्त्रीको प्रस्तुति; देश, जनता र संसदप्रति जवाफदेही र मुलुकले भोग्नु परेको संकटको समाधानतर्फ गम्भीर र समाधान उन्मुख भएको देखिनु पर्ने हो । प्रधानमन्त्री ओली त्यसो गर्नबाट नराम्ररी चुकेका छ्न् र सस्तो प्रहसन मै ब्यस्त भएका छ्न् ।

प्रधानमन्त्रीको मजाकिया प्रवृत्ति कोरोना कालमा सुरु भएको होईन । यो उनको पुरानै आदत हो । चुनाव ताका जिते पछी वृद्धभत्ता बढाएर पाँच हजार पुर्‍याउने अनि खनखनी गनेर बूढाबूढीको हातमा थपक्क राखेर ढोग्‍ने प्रधानमन्त्रीको आश्वासन पूरा भएन, वृद्धबृदामाथिको भद्दा मजाक साबित भयो ।

तुईन हटाउने, पूर्व- पश्चिम रेल चलाउने, ग्यासको पाईप चुलाचुलामा पुर्‍याउने, बिजुली गाडी देश भर कुदाउने, नेपालको झण्डा फहराउँदै पानी जहाज चलाउने लगाएतका प्रधानमन्त्रीको सुखी नेपाली र समृद्ध राष्ट्रको नाराहरु अन्तत: कुनै कमेडी भन्दा कम भएनन् ।

प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्ति त्यसरी बेलगाम दौडिएको र बेला कुबेला बेतुकको हावादारी गफ लडाउँदै जग हँसाई गर्दै हिंडेको बेला कम्तिमा पनि उनकै पार्टीका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीलाई सजग र सतर्क गराउनु पर्ने हो ।

“बादशाहको नयाँ लुगा” कथाका पात्रहरु झैं हो मा हो मिलाएर झन उकासी उकासी ताली बजाउने र प्रधानमन्त्रीलाई अनावश्यक रुपमा हौसाउने कार्यकर्ताको अन्धो पंक्तिले उनको ब्याक्तित्वलाई जोकरको दर्जामा पुर्‍याइदिएका छन् ।

यतिखेर मुलुक कोरोना भाइरसले ग्रस्त छ । नौं हजार भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने त्यसरी संक्रमित हुनेको संख्या दिन प्रति दिन बढ्दै गएको छ । कोरोना कै कारण २३ जनाको मृत्यु पनि भैइसकेको छ । देश भरका स्कुल, कलेज, पार्टी प्यालेस र होटलहरु होल्डीङ सेन्टर र क्वारेन्टाइनमा परिणत भएका छ्न् । लाखौं लाख बालबालिका र विद्यार्थीहरुको पठनपाठन ठप्प छ । लाखौं जनताको रोजीरोटी गुमेको छ । उद्योग कलकारखाना सबै बन्द छन् । त्यसरी चुँलिदै गएको स्वास्थ्य संकटको ब्यबस्थापनमा १० अर्ब खर्च भईसकेको छ भने थप अरु कति खर्च लाग्ने हो, ठेगान छैन । वास्तव मै यतिखेर मुलुक ठूलो संकटमा परेको छ ।

तर बिडम्बना, मुलुक यति ठूलो संकटमा फसेको र गम्भीर स्वास्थ्य संकटबाट गुज्रिरहेको बेला सिङ्गो मुलुकको अभिभावकत्व वहन गर्ने राष्ट्रको प्रमुख एवं  कार्यकारी प्रधानमन्त्री ओली भने मजाक, ठट्टा र जुहारीमै व्यस्त छ्न् ।

  • मदन बस्नेत

प्रकाशित मितिः सोमबार, असार ८, २०७७, ०८:४५