काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध पूर्वतयारीका लागि औषधि र खाद्यान्न संकट टार्ने रणनीति बनाउन सांसदहरुले माग गरेका छन् । सीमाबाट हुने आउजाउमा कडाइ गर्न र उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उच्च मनोबलमा काम गर्ने परिस्थिति सिर्जना गर्न पनि उनीहरुले सरकारलाई सुझाव दिएका छन् ।

कोभिड–१९ को जोखिम नियन्त्रणबारे कांग्रेस सांसद गगनकुमार थापाले राखेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि शुक्रबार प्रतिनिधिसभामा भएको छलफलमा सांसदहरुले संकटको मौका छोपेर खाद्यान्न, औषधि र मास्कसमेत कालोबजारी भइरहेकाले त्यसमा ध्यान दिन आग्रह गरे ।

सांसद थापाले सरकार, संसद् र समुदायको संयुक्त प्रयासमा कोभिड–१९ विरुद्ध जुध्न सबैको एकीकृत प्रयास आवश्यक रहेको बताए ।


। उपचारमा संलग्न स्वास्थ्यकर्मीको बिमा, औषधि व्यवस्थापन, अस्पतालको तयारी, सेल्फ–आइसोलेसन र विदेशबाट आउनेमाथि उच्च निगरानीजस्ता विषयमा सरकारको ध्यान जान जरुरी रहेको जनाउँदै उनले संसद्ले विशेष समिति बनाएर निगरानी गर्नुपर्ने प्रस्ताव गरे । अन्तर्राष्ट्रिय विमानस्थलका स्वास्थ्यकर्मीले एउटा मास्क लगाएर यात्रुको जाँच गरिरहेको प्रसंग जोड्दै थापाले उनीहरुलाई स्रोतसाधन सम्पन्न बनाउनुपर्ने बताए ।

सरकारले एकीकृत कार्ययोजना तयार गर्नुपर्ने प्रस्ताव गर्दै उनले विदेश जाने–आउने विषयमा सरकारको प्रस्ट निर्णय आउनुपर्ने बताए । फरक–फरक सूचना दिँदा नागरिक अलमलमा पर्ने भन्दै उनले सरकारले एकद्वार सूचना प्रणाली लागू गर्नुपर्ने उनको भनाइ थियो । उनले राखेको प्रस्तावमाथि सत्ता र प्रतिपक्षका सांसदले समर्थन गर्दै कोभिड–१९ नियन्त्रणमा राज्यका सबै निकायलाई परिचालन गर्नुपर्नेमा जोड दिए । यो समाचार आजको कान्तिपुर मा छ ।


प्रकाशित मितिः शनिबार, फागुन २४, ०७:४२