बुटवलः चीनबाट सुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै प्रदेशका विभिन्न निकाय र स्थानीय सरकारले सचेतनामूलक गतिविधिमा सक्रियता बढाएका छन् ।

स्थानीय प्रशासनले बढी भीडभाड हुने कार्यक्रम नगर्न भन्दै सूचना जारी गरेका छन् । नजिकिँदै गरेको होली, विद्यालयका समारोह, परीक्षा जस्ता कार्यक्रममा सावधानी अपनाउन सूचनामार्फत आग्रह गरिएको छ ।

प्रदेश ५ सरकारले कोरोना भाइरसको प्रकोपबाट बच्न प्रदेशका सरकारी अस्पतालमा ‘आइसोलेसन’ व्यवस्थापन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली प्रदेशको अनुगमनमा व्यस्त छ ।


प्रदेशका विमानस्थलहरुमा सर्विलेन्स र परामर्श केन्द्र सञ्चालनमा आएका छन् । विभिन्न जिल्लामा विभिन्न संघसंस्था र सरकारी निकायले पूर्वनिर्धारण गरेका कार्यक्रम स्थगित गरेर सावधानी अपनाइएको छ । तर केही स्थानमा पूर्वनिर्धारित एकाध कार्यक्रम भने भएका छन् । केही स्थानीय सरकारले हात मिलाउने र नमस्ते गर्ने जस्ता अभियान पनि सञ्चालन गरेका छन् । यो समाचार आजको गोरखापत्र मा छ ।


प्रकाशित मितिः शुक्रबार, फागुन २३, ०७:३४