काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबलका सबै गतिविधि रोक्ने सुचना जारी गरेको छ ।

कोरोना भाइरस संक्रमण असर विश्व व्यापी रुपमा फैलदै गएपछि नेपालमा पनि सावधानीका लागि सबै कार्यक्रम स्थगित गरेको हो ।

एन्फाले शुक्रबार विज्ञप्ती जारी गर्दै चैत ३ गते धरानमा सुरु हुने भनिएको महिला लिग, राष्ट्रिय टोलीको तयारी र सबै कार्यक्रम रोक्ने निर्णय गरेको छ ।

विभिन्न जिल्ला संघले आयोजना गर्ने गोल्डकप लगायतका प्रतियोगिता पनि अनिश्चित कालका लागि स्थगित भएका छन् ।

यसैगरी, अर्को महिना स्वदेशमा हुने विश्व कप छनोटअन्तर्गत चाइनिज ताइपे र अष्ट्रेलियासँगको खेलका लागि सुरु भएको राष्ट्रिय फुटबल टोली तयारी पनि स्थगित भएको छ ।


चाइनिज ताइपेविरुद्ध चैत १३ गते र अष्ट्रेलियाविरुद्ध चैत १८ गते दशरथ रंगशालामा खेल हुने तय थियो । यसबीचमा अष्ट्रेलिया कोरोनाको कारण देखाउँदै छनोट खेल स्थगित गर्नका लागि एसियाली फुटबल महासंघ (एएफसी) लाई पत्रचार समेत गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार मात्रै सुचना जारी गर्दै सुरु भइसकेका प्रतियोगियताबाहेक सबै प्रतियोगिता र गतिविधि रोक्न भनेको थियो ।


प्रकाशित मितिः शनिबार, फागुन २४, ०८:४९