काठमाडौंः चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ ।

नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो पहिलोपटक हो । २०७२ मा नेपालमा आएको भूकम्प वा विदेशमा भएका अन्य कुनै पनि घटनाले यति धेरै असर पारेको थिएन ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कोरोना भाइरसको त्रास बढ्दै गर्दा विदेशको रोजगारीमा जानेको संख्या ७५ प्रतिशतले घटेको बताए । ‘यतिखेर भिसा आइसकेका र नगए भिसा रद्द हुनेबाहेक अरु सबैले वैदेशिक रोजगारी स्थगित गरेको देखिन्छ,’ दाहालले भने, ‘कोरोना त्रासले रोजगारीभन्दा जीवन ठूलो ठानेर हुन सक्छ, कोही पनि विदेश जान चाहेको देखिएन ।


।’

रोजगारीका लागि नेपाली युवा जाने गरेका दक्षिण कोरिया, जापान, दुबई, मलेसिया, कुबेतलगायत कैयन गन्तव्य मुलुकमा कोरोना भाइरस फैलिएको छ । नेपाली युवा पछिल्लो समय दैनिक एक हजार हाराहारीमा वैदेशिक रोजगारीमा जाने गरेका थिए । अहिले यो संख्या तीन सयभित्र रहेको विभागले जनाएको छ । यो समाचार आजको नागरिक मा छ ।


प्रकाशित मितिः शनिबार, फागुन २४, ०७:०३