काठमाडौंः आज थप तीन जना कोराना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या १० पुगेको छ । यसअघि ७ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो पटक सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीकी ५० वर्षीया महिला अस्पतालबाट डिस्चार्ज भएका छिन् । वीरगञ्जबाट फर्किएकी उनमा वैशाख १ गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।

यस्तै, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् । बेलायतबाट फर्केका कोरोना भाइरस संक्रमित ८१ वर्षीया आमा र ५८ वर्षीय छोरा पाटन अस्पतालमा भर्ना भएको १० दिनपछि कोरोना भाइरस मुक्त भएर डिस्चार्ज भएका छन् ।


नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । बाँकी ३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मितिः बिहीबार, वैशाख ११, १९:०९