काठमाडौंः चीनको उहानबाट विश्वभर फैलँदो क्रममा रहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले विश्व अर्थतन्त्र प्रभावित बन्दै गएको छ ।

कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारेको प्रभाव बिस्तारै देखिँदै जाने भएकाले अहिले नै भन्न सकिने अवस्था छैन । यतिबेला सन् २००९ यताकै सबैभन्दा सुस्त गतिमा विश्व अर्थतन्त्र चलिरहेको छ ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रम घटेसँगै रेमिट्यान्स भित्रिन पनि छाडिसकेको छ । कोरोना प्रभावकै कारण नेपालको विकास निर्माणका गतिविधिमा ब्रेक लागेको छ । गत माघ मसान्तसम्म ७६ अर्ब रुपैयाँ विकास खर्च गरेको सरकारले त्यसपछिको एक महिनाको अवधिमा जम्मा २० अर्ब रुपैयाँ मात्र विकास खर्च गरेको छ ।


कोरोनाको असर नपरेको भए चालू आवका लागि विनियोजित विकास खर्चको लक्ष्य भेट्याउन सरकारले माघयता हरेक महिना न्यूनतम ५० अर्ब रुपैयाँ विकास खर्च गर्नुपर्ने थियो । कोरोना प्रभावकै कारण अहिले राजस्व संकलनको लक्ष्य र मुलुकको विकास खर्च दुवै खुम्चिएको छ । पर्यटकीय गतिविधि ठप्प भएका छन् । हवाई उडान धमाधम बन्द हुँदै जाँदा पाहुना आउन छाडेपछि होटेल सुनसान छन् । विदेशी पर्यटक मात्रै होइन, आन्तरिक पर्यटक पनि कोरोना त्रासका कारण घुमघाममा निस्कन छाडेपछि होटलको व्यपार ९० प्रतिशतसम्म घटेको छ । यो समाचार आजको राजधानी मा छ ।


प्रकाशित मितिः मंगलबार, चैत ४, ०७:४७