काठमाडौंः सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

आज बिहान मन्त्रिपरिषद् बैठकले विद्यालय बैशाख भर बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिए ।

बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गराउन सम्भव नहुने तथा भीडभाड हुने क्षेत्रलाई बन्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही पहिले नै शहरी क्षेत्रका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर मन्त्रिपरिषदले निर्णय नगरेपछि मन्त्रालयले काठमाडौं उपत्यकासहित १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राख्दै बालबालिकालाई विद्यालय नपठाउन अपील गरेको थियो ।


मन्त्रिपरिषद्को आजको बैठकले विद्यालयका साथै सिनेमा हल, पार्टी प्यालेस, रंगशाला लगायतका भीडभाड हुने क्षेत्र पनि बन्द गर्ने निर्णय गरेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ६ गते सोमबार, १२:३३