लन्डनः विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार शनिबार साँझसम्म युएईमा १ जना र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका विदेशमा विगत ९ महिनामा नेपाल बाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

संघका अनुसार यो साता बेल्जियम, स्पेन, नेदरल्याण्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ४२ देशका ४० हजार ७३५ नेपाली कोरोना संक्रमित भएका छन् ।


। ती मध्ये ३६ हजार ६७३ जना नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन् । संक्रमित नेपाली मध्ये ८९ प्रतिशत कोरोना मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, १२:११