काठमाडौंः विश्वव्यापी महामारीका ररुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्ने विषयमा आवश्यक रणनीति तयार गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)ले आज भिडियो सम्मेलन गर्ने भएका छन् ।

कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न सार्क सदस्य राष्ट्रले भिडियो सम्मेलनमार्फत समाधानको उपाय खोज्न लागेका हुन् ।

भिडियो सम्मेलन (कन्फरेन्स) नेपाली समयअनुसार साँझ सवा पाँच बजे हुनेछ ।

भिडियो वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली आफैं सहभागी हुनेछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयभित्र रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।


भिडियो कन्फरेन्समार्फत् सार्क सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफ्नो देशले गर्दै आएको र गर्नुपर्ने कामका विषयमा धारणा राख्नेछन् । त्यसपछि एकीकृत रणनीति बनाउने योजना छ ।

यसअघि मोदीले सामाजिक सन्जाल ट्वीटरमार्फत् सार्क सदस्य राष्ट्रहरुले कोरोनाविरुद्धको लडाइँमा एकीकृत योजना बनाउन प्रस्ताव गरेका थिए ।


प्रकाशित मितिः आइतबार, चैत २, ०९:३६