भक्तपुरः भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले भक्तपुर नगरपालिकालाई आज कोरोना रोकथामको लागि रु. १० लाख सहयोग गरेको छ ।

भक्तपुरमा कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणमा भक्तपुर नगरपालिकाले गर्दै आएको काममा सहयोगस्वरुप भक्तपुर साकोसले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु. १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भक्तपुर साकोसका अध्यक्ष बलराम प्रजापतिको नेतृत्वमा आएको कार्यकारी समिति टोलीले आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

नगर प्रमुख प्रजापतिले नगरपालिकाको कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि भक्तपुरका विभिन्न संघ संस्थाले नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको बताउँदै कोषमा जम्मा भएको रकम नगरबासी जनताकै हितमा कोरोना रोकथामको लागि खर्च गरिने बताए ।


नगरपालिकाले नगरवासी संक्रमितहरुलाई छुट्टै एकान्तबास (आइसोलेसन) को व्यवस्था गरेको बताउँदै उनले दिनानुदिन कोभिड–१९ रोगका संक्रमितहरुको संख्या वृद्धि भइरहेको हुँदा कोरोना संक्रमणको रोकथामको लागि अझ बढी नागरिक र संघ—संस्थाहरुको योगदानको आवश्यकता भएको बताए । उनले लामो प्रयासपछि प्रदेश सरकारको तर्फबाट भक्तपुर अस्पतालमा पीसीआर परीक्षण मेसिन प्राप्त भएको र अब छिटै सञ्चालनमा आउने जानकारी दिए ।

नगरपालिकाकी उपप्रमुख रजनी जोशी र नगरपालिका वडा नं. २ का वडाध्यक्ष एवम् सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले कोभिड–१९ महामारी रोकथामको लागि नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन केन्द्र व्यवस्थापनको लागि गरेको सहयोग सराहनीय भएको बताए ।

संस्थाका अध्यक्ष बलराम प्रजापतिले आर्थिक सहयोग हस्तान्तरण गर्दै नगरपालिकाको सहयोग आह्वानलाई सहर्ष स्वीकार गरी संस्थाको सञ्चालित समितिको बैठकले सामुदायिक विकास कोषको रकम नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्ने निर्णयअनुरुप सो रकम हस्तान्तरण गरेको बताए ।

नगरपालिकाले गरिरहेको कामहरु पारदर्शी र जनता केन्द्रित हुने गरेको बताउँदै अध्यक्ष प्रजापतिले कोभिड–१९ नियन्त्रणमा नगरपालिकाले उल्लेख्य कामहरु गरिरहेकोमा खुशी व्यक्त गरे ।


प्रकाशित मितिः २०७७ साल असोज ३० शुक्रबार, १९:२३