काठमाडौँ: सरकारले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले बुधबार २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । साथै, चैत ६ गते बिहीबारदेखि सञ्चालन हुने एसइई परीक्षा नरोकिने समेत जानकारी दिइएको छ।

बैठकले सिनेमाहल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो। यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने बताइएको छ।


उच्चस्तरीय समन्वय समितिको बैठकले हवाइ मार्गबाट नेपाल आउने लगभग सबै यात्रुलाई प्रतिबन्ध लगाएको छ।

‘युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरू,इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० मध्य रातदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्मका आगमनमा प्रतिबन्ध लगाउने,’ निर्णयमा भनिएको छ।

त्यस्तै पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ ।सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रह गरेको छ । त्यस्तै भीडभाड गरी यात्रा नगर्न सर्वसाधारणलाई पनि आग्रह गरेको छ ।

समितिको बैठकले मानिसहरुको जमघट हुने सार्वजनिम महत्वको स्थलहरुमा स्थानीय तहहरुले दैनिक रुपमा सरसफाइ र डिसइन्फेक्सन गर्नुपर्ने पनि निर्णय गरेको छ ।

निर्णयहरु:


प्रकाशित मितिः २०७६ चैत ५, १७:४३