काठमाडौंः कोरोना भाइरसको संक्रमण बढ्ने खतरा बढ्दै गएपछि अदालतका काम–कारबाहीमा कमी ल्याउन नेपाल बार एसोसिएसन र त्यसका एकाइहरुले अदालतलाई दबाब दिएपछि यसबारेमा निर्णय गर्न भोलि शुक्रबारको सम्पूर्ण इजलास बन्द गर्ने निर्णय गरेको छ । सो दिन प्रधानन्यायाधीशसहित सर्वोच्चका सम्पूर्ण न्यायाधीशको बैठक बसी के–कसरी प्रक्रिया बढाउने भन्ने सम्बन्धमा निर्णय गर्ने बताइएको छ ।

नेपाल बारले मंगलबार अत्यावश्यकबाहेक अन्य काम–कारबाहीमा कमी ल्याउन न्यायपालिकालाई आह्वान गरेको थियो । हिजो बुधबार नेपाल बारका अन्य एकाइले पनि सोही आह्वानलाई स्मरण गर्दै बन्दी प्रत्यक्षीकरणको मुद्दा तथा अन्य गर्नै पर्ने कार्यबाहेक सबै काम स्थगित गर्न माग गरेका छन् ।


सर्वोच्च अदालत बार एसोसिएसन तथा काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले अदालत भीडभाड हुने स्थान भएकाले यसबारेमा गम्भीर भएर सोच्न अदालतसँग माग गरेका छन् । अदालतहरुमा दिनहुँ हजारौंको संख्यामा सेवाग्राही प्रवेश गर्ने गर्दछन् । यस्तो अवस्थामा अदालत अत्यावश्यक सेवाबाहेकका अन्य कार्य रोक्नुपर्ने कानुन व्यवसायीको भनाइ रहेको छ ।

सर्वोच्च बारले औपचारिकरुपमा नै अदालतका कार्यहरु धेरै नै घटाउनुपर्ने माग गरेको छ । काठमाडौं जिल्ला बारले विज्ञप्ति जारी गरी अदालतमा न्यायाधीश, कानुन व्यवसायी, कर्मचारी, सुरक्षाकर्मी तथा सेवाग्राही जमघट हुनुपर्ने स्थान भएका कारण संवेदनशील भएर सोच्नुपर्ने अवस्था भएको उल्लेख गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्र मा छ ।


प्रकाशित मितिः बिहीबार, चैत ६, ०७:१९