काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारण आज २ जनाको मृत्यु भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

आज बाराको निजगढ नगरपालिका–६ योजना टोल निवासी पाँच वर्षे बालक र पर्साको वीरगञ्ज महानगरपालिका घण्टाघरमा बेवारिसे अवस्थामा मृत भेटिएका अन्दाजी २५ वर्षका पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिए ।

नारायणी अस्पताल वीरगञ्जमा गरिएको स्वाव परीक्षणमा मृतक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

वीरगञ्जका बालक लाई श्वासप्रश्वासमा समस्या भएपछि जेठ ३० गते वीरगञ्ज हेल्थ केयरमा उपचारका लागि भर्ना गरिएको थियो ।


। उनको आरडीटी परीक्षणमा पोजेटिभ रिर्पोट आएपछि थप परीक्षणका लागि पीसीआर गरिएको थियो । उनको कोरोना आशंका गरी स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै, वीरगञ्जको घण्टाघरमा जेठ २८ गते मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बेवारिसे शव भए पनि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो । उनमा पनि जेठ ३० गते कोरोनाको पोजेटिभ देखिएको हो ।


प्रकाशित मितिः शनिबार, जेठ ३१, २०७७, १६:५५