काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारण गुल्मीका एक पुरुषको मृत्यु भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

गुल्मी छत्रकोटका ६९ वर्षीया पुरुषको कोरोना संक्रमणले असार ५ गते मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिए ।

लकडाउनकै समयमा उपचारका लागि भारत गएका ती पुरुष प्यारालाइसिसका बिरामी थिए । जेठ २५ गते भारतबाट नेपाल फर्कि होम क्वारेन्टाइनमा बसेका थिए । उनको असार ५ गते नमुना संकलन गरी प्रदेश प्रयोगशालामा भैरहवामा भएको परीक्षणको रिपोर्ट असार ६ गते आएको थियो जसमा उनमा कोरोना पुष्टि भएको हो ।


उनको घरमै मृत्यु भएको र उनको शव नेपाली सेनाले व्यवस्थापन गरिसकेको मन्त्रालयले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, असार ७, २०७७, १७:०९