काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) आज थप दुई पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

गोरखाको पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देहीको देवदहका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिए ।

पालुङटारका पुरुष १६ गते कतारबाट आएका थिए । पालुङटारको जीवनज्योति माविको क्वारेन्टिनमा बस्दा स्वास्थ्य बिग्रिँदै गएपछि जिल्ला अस्पतालको आइसोलेनमा भर्ना गरिएको थियो ।


शुक्रबार खोकी लाग्नेजस्ता समस्या देखिएपछि उनलाई गोरखा अस्पतालको आइसोलेसनमा लगिएकोमा शनिबार बिहान ५ बजे मृत्यु भएको थियो ।

प्रवक्ता डा. गौतमका अनुसार उनी मधुमेह र निमोनियाका बिरामी पनि थिए । उनको स्वाब असार १८ गते संकलन गरी १९ गते कोरोना पुष्टि भएको थियो ।

यसैगरी, देवदहका पुरुष क्षयरोगको उपचारका लागि १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको १७ गते निधन भयो । त्यसको भोलिपल्ट उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।


प्रकाशित मितिः शनिबार, असार २०, २०७७, २०:१७