काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा रौतहटका एक पुरुषको मृत्यु भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

रौतहट घर भएका ३० वर्षका पुरुषको १३ गते राति ललितपुरको स्टार अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिए ।

गौतमका अनुसार ललितपुरको स्टार हस्पिटलमा असार १३ गते उनी उपचारका लागि पुगेका थिए । उनको १३ गते बेलुका नै कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको थियो । त्यही राति ८ बजे उनको मृत्यु भयो भने १४ गते कोरोना संक्रमण भएको रिपोर्ट आएको छ ।


उनी ३ महिनादेखि नै फोक्सोको समस्याबाट ग्रसित भएको र विभिन्न अस्पतालमा उपचार गराउँदै आएका थिए ।

उनको शव नेपाली सेनाले व्यवस्थापन गरिसकेको मन्त्रालयले जनाएको छ ।


प्रकाशित मितिः सोमबार, असार १५, २०७७, १७:३७