काठमाडौंः प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय लज्जास्पद भएको बताएका छन् ।

देउवाले आज विज्ञप्ति जारी गर्दै कोभिड–१९ को परीक्षण र संक्रमित नागरिकले आफ्नो खर्चमा उपचार गर्नुपर्ने सरकारको निर्णय अलोकतान्त्रिक र असंवैधानिक भन्दै तत्काल खारेज गरी स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचारसम्मका सबै काम निशर्त, भेदभावबिना, निः शुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

उनले कोरोना संक्रमितको उपचार निशर्त, भेदभावरहित र निः शुल्क हुुनुपर्ने बताएका छन् ।

आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक भएकाले सरकारले कुनै शर्त बिना यसको कार्यान्वयन गर्नुपर्नेमा देउवाले जोड दिएका छन् ।


सरकारले हालै मात्र आर्थिक रुपमा विपन्न, अशक्त, अपाङ्ग र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण गखिए मात्र परीक्षण र उपचार निःशुल्क गर्ने बताएको छ । अरुले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ६ बिहीबार, १९:२५