काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्स २ रनले विजयी भएको छ ।

शेख जायद क्रिकेट स्टेडियममा शनिबार भएको रोमाञ्चक खेलमा किङ्स इलाभेन पन्जाबलाई २ रनले पराजित गर्दै कोलकत्ताले चौंथो जित निकालेको हो ।

कोलकत्ताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।

पन्जाबका कप्तान केएल राहुलले ७४, मायांक अग्रवालले ५६, निकोलस पुरनले १६ र ग्लेन म्याक्सवेलले अविजित १० रन बनाए ।

कोलकत्ताका प्रशिद्ध कृष्णले ३ र सुनिल नारिनले दुई विकेट लिए ।


यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

कोलकत्ताका लागि कप्तान दिनेश कार्तिकले ५८, सुबमन गिलले ५७ र इयान मोर्गनले २४ रन बनाए ।

पन्जाबका मोहमद शामी, अर्शदिप सिंह र रबि बिश्नोईले १/१ विकेट लिए ।

जितसँगै कोलकत्ता तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ६ खेलमा ८ अंक जोडेको छ । पन्जाबको भने यो छैटौं हार हो । ७ खेलमा १ जितसहित २ अंक जोडेको पन्जाब पुछारमा रहेको छ ।


प्रकाशित मितिः शनिबार, असोज २४, २०७७, २१:०५