काठमाडौंः काभ्रे जिल्ला स्थायी घर भएका अशोक लामा पछिल्लो समय ललितपुरमा बस्दै आएका छन् ।

३८ वर्षीय लामा उनकै गृह जिल्ला काभ्रेली डन दावा लामाको सहयोगीको रुपमा लामो समयदेखि गुण्डागर्दीमा संलग्न हुँदै आएका छन् । सुरुदेखि नै लामाले दावाकै सहयोगीका रूपमा ललितपुरलाई आधार बनाएर गुण्डागर्दी शुरु गरेका हुन् ।

उनी काठमाडौंका ठमेल, दरबारमार्ग र ललितपुरको लगनखेल क्षेत्रमा सञ्चालित डान्सबारबाट हप्ता असुली गर्ने कार्यमा संलग्न थिए । पछिल्लो समय उनी विभिन्न व्यापारीलाई चर्को ब्याजमा पैसा दिने (मिटर ब्याज)को धन्दा गर्ने कार्यमा संलग्न रहदै आएको प्रहरीले बताएको छ ।


निर्माण क्षेत्रका साना–ठूला ठेक्कापट्टामा समेत संलग्न उनी पछिल्लो समय उनी विभिन्न व्यवसायीलाई हतियार देखाएर हप्ता असुली गर्ने गर्दथे ।

यसअघि उनीमाथि ज्यानमार्ने उद्योगमा मुद्दा चलेको थियो । उनीमाथि विभिन्न समयमा सार्वजनिक मुद्दा समेत चलेका थिए । विभिन्न व्यवसायीहरूले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई खोजी सूचीमा राखेको थियो । केही समयअगाडि न्युरोडको एक ब्यापारीलाई पैसा नदिएको भन्दै खुकुरी प्रहार गरेपछि प्रहरीले अशोकमाथि निगरानी बढाएको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाले लामाको खोजीका लागि विशेष टोली नै परिचालन गरेको थियो । सोमवार दिउँसो युएन पार्कमा भेटिएका लामालाई प्रहरीले पक्राउ गर्न खोजेको थियो । उनले प्रहरीमाथि नै गोली प्रहार गर्न खोजेपछि जवाफी फायरिङ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले बताएका छन् ।

लामाको साथबाट एक थान पेस्तोल र त्यसमा लाग्ने २ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

लामाको दाहिने खुट्टाको पिंडौलामा गोली लागेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

लामामाथि हातहतियार खरखजाना मुद्दामा अनुसन्धान गरिने अपराध महाशाखाले जनाएको छ ।