काठमाडौंः नेपाल ट्राईयाथलन संघको आयोजनमा पुस २५ गते शनिबार टोखामा क्रस दुवाथलन च्यालेन्ज हुने भएको छ ।

नेपाल ट्राईयाथलन संघले कोभिडबाट आक्रान्त रहेको अवस्थामा स्थानीय ब्यक्तिहरुलाई क्रियासिल गर्दै खेल मार्फत खेलाडीहरुको रोगसँग लड्न सक्ने क्षमता अभिबृद्धि गर्ने उद्देश्यले च्यालेन्ज आयोजना गर्न लागिएको हो ।

अहिले ट्राईयाथलनसँग आवद्ध खेलाडीहरु भन्दा नयाँ खेलाडीहरुलाई प्रार्थमिकतामा राखेर च्यालेन्ज आयोजना गर्न लागेको हो । यो च्यालेन्ज काठमाडौंको टोखा, किर्तिपुर र ललितपुर गरि तीन स्थानमा पाक्षिक रुपमा एक स्थानमा दुई दुई पटक स्थानिय निकायसँग समन्वय गरि आयोजना गर्ने र अन्य स्थानमा पनि खेलस्थलको निरिक्षण पश्चात च्यालेन्ज आयोजना गर्ने संघले जनाएको छ ।


यस च्यालेन्जले लामो समयका लागि खेलाडी उत्पादन गर्न र खेलाडीहरुलाई खेल प्रति उत्साहित गर्न मद्दत मिल्ने संघले जनाएको छ । संघले उपत्यका बाहिरका स्थानलाई महत्वमा राख्दै स्थानीय खेलाडी उत्पादन, प्रचार प्रसारमा नआएका स्थानलाई उजागर गर्दै आन्तरिक पर्यटन विकासलाई समेत मध्यनजर राख्दै प्रतियोगिताहरु आयोजना गर्दै जाने लक्ष्य राखेको छ ।

ट्राईयाथलनको विधाहरु मध्ये क्रस दुवाथलन पनि एक हो । क्रस दुवाथलनमा २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.५ कि.मि. दौड हुने संघका महासचिव एवं ट्राईयाथलनकाबीज्ञ युवराज सुनुवारले जनाएका छन् । च्यालेन्ज उपत्यकाको ऐतिहासिक पुरानो सहर टोखाको गणेशस्थान देखि चण्डेश्वरी सम्मको स्थानमा आयोजना हुने आयोजकले जनाएका छन् ।

च्यालेन्जलाई जम्प नेशनले सहयोग गर्न सक्ने संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताएका छन् । जम्प नेशनसँग च्यालेन्जलाई सहयोग गर्ने बिषयमा बार्ता भईरहेको छ । कोभिड–१९ को कारण प्रतियोगिताहरु नभईरहेको अवस्थामा खेलकुदलाई क्रियासिल बनाउनुका साथै कोभिड–१९ बाट बच्न ब्यक्तिहरुमा रोगसँग लडन सक्ने क्षमता उत्पादन गर्न समेत यसले सहयोग पुग्नेछ अध्यक्ष श्रेष्ठले बताए ।


प्रकाशित मितिः २०७७ साल पुस १९ गते आइतबार, १६:३०