भक्तपुरः विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना र यसको उद्गम स्थल चीनमा रहेका नेपालीहरुलाई स्वदेश फर्काएर राखिएको १६ दिनपछि सोमबार अपरान्ह घर पठाइएको छ ।

कोरोनाबाट संक्रमित देश चीनमा रहेका नेपालीहरुलाई नेपाल सरकारले स्वदेश फिर्ता गराएर राखेको चाँगुनारायण नगरपालिका–७, खरिपाटीस्थित नेपाल विद्युत तालिम केन्द्रको भवनबाट सोमबार घर फिर्ता पठाएको हो ।

घर फर्काइएका १७५ जना नेपालीहरु र ७ जना स्वास्थ्यकर्मी १८२ जनामा कुनै किसिमको कोरोना भाइरसको लक्षण नदेखिएको र उनीहरुको परिक्षण गरेपश्चात पूर्ण रुपमा स्वस्थ देखिएपछि घर फर्काइएको हो ।

उनीहरुलाई घर फर्काउने क्रममा पुगेका स्वास्थ्य राज्यमन्त्री नवराज रावतको रोहवरमा उनीहरुलाई क्वारेन्टाइनबाट बिदाइ गरिएको हो ।


क्वारेन्टाइनबाट छुटेकाहरु सबैलाई पाँचवटा बसले घर नजिकै छाड्ने व्यवस्था मिलाइएको छ ।

क्वारेन्टाइनमा रहेका उनीहरुलाई लिन परिवार र आफन्जन पुगेका थिए । लिन पुगेका र क्वारेन्टाइनमा रहेका सबै खुशी देखिएका थिए भने आफूहरुलाई सरकारले यसरी व्यवस्थित तरिकाले राखेकोमा धन्यबाद समेत व्यक्त गरेका थिए ।


प्रकाशित मितिः मंगलबार, फागुन २०, ०६:१५