काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

खनाल–नेपाल निकट केन्द्रीय सदस्यहरुको आज बसेको अनौपचारिक बैठकले चैत ४ र ५ गते कार्यकर्ता भेला बोलाउने निर्णय गरेको हो ।

यस्तै, बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएको छ ।

बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य लगायतलाई बोलाइएको छ ।

यस्तै, खनाल–नेपाल समूहको आजको बैठकले प्रदेश इन्चार्ज समेत तोकेको छ ।

बैठकले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।


यस्तै, रघुजी पन्तले युवा, गोकर्ण विष्टले विद्यार्थी, प्रमेश हमालले बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।


प्रकाशित मितिः २०७७ साल फागुन २९ गते शनिबार, १७:१९