काठमाडौं : इन्धनको मुल्य बृद्दि गरेर आलोचना खेपिरहने नेपाल आयल निगमले चालु आर्थिक वर्ष ०७४(७५ को लागि विनियोजन गरेको करिब १२ अर्ब रुपैयाँ खर्च गर्न सकेको छैन ।

इन्धन भण्डारणको लागि जग्गा खरिद र पूर्वाधार निर्माण गर्न विनियोजन गरेको रकम खर्च गर्न नसकेको हो।सातै प्रदेशमा इन्धन भण्डार निर्माण गर्न जग्गा खरिदको लागि विनियोजन गरेको सात अर्ब सात करोड र पूर्वाधार निर्माणको चार अर्ब गरी ११ अर्ब सात करोड रुपैयाँमध्ये एक रुपैयाँ पनि खर्च हुन सकेको छैन ।

निगमले जग्गा खरिद, भण्डारण स्थल निर्माण, विभिन्न डिपोको स्तरोन्नति, निगमको कर्पोरेट भवन निर्माण लगायतको लागि पुँजीगततर्फ करिब १२ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको थियो ।


। चालु आर्थिक वर्ष सकिन करिब दुई साता बाँकी रहँदा निगमले पुँजीगततर्फको ६ करोड ३७ लाख रुपैयाँका योजनामात्र निर्माण सम्पन्न गरेको छ । ५६ करोड नौ लाख रुपैयाँका योजना निर्माणाधीन छन्।

निगमले सातै प्रदेशमा ९० दिनलाई पुग्ने गरी इन्धन भण्डारणको लागि गत वर्ष गलत बाटोबाट जग्गा खरिद प्रक्रिया अघि बढाउँदा अनियमितता भएपछि चालु आर्थिक वर्षमा जग्गा खरिद र पूर्वाधार निमार्णको काम ठप्प भएको छ ।

निगमले चितवन, रूपन्देही, झापा, सर्लाही, महोत्तरी, धनगढी, धादिङ लगायत स्थानमा जग्गा खरिद प्रक्रिया अघि बढाएको थियो ।
निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले चितवन, रूपन्देही, झापा, सर्लाहीमा जग्गा खरिद गर्दा अनियमितता गरेको विभिन्न सरकारी छानबिनले देखाएपछि जग्गा खरिद प्रक्रिया रोकिएको छ ।

जग्गा प्राप्ति ऐन अनुसार जग्गा खरिद गर्नुपर्नेमा टेन्डरबाट जाँदा अनियमितता भएपछि खरिद प्रक्रियामा अन्योल भएको नागरिक दैनिकमा समाचार छ ।