नवलपरासीः पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा पर्ने गरेका छन् ।

विगत चार वर्षयता पूर्वी नवलपरासीका ६०० र पश्चिम नवलपरासीमा ९४६ जना विभिन्न समस्यामा परेको उजुरी परेको आप्रवासन परियोजना नवलपरासीले जनाएको छ ।

सो अवधिभर कूल ११० जना नेपाली कामदारको खाडीमुलुकमा विविध कारणले मृत्यु भएको तथ्यांक रहेको सुरक्षित आप्रवासन परियोजना नवलपरासीका कार्यक्रम अधिकृत ज्ञानेश्वर भण्डारीले जानकारी दिए ।

खासगरी पैसा लिने तर विदेश नपठाउने, समयमा तोकेबमोजिम तलब नपाइने, भनेको कामभन्दा कडा र जोखिम काममा लगाउनेलगायतका समस्या वैदेशिक रोजगारका क्रममा देखिएको भण्डारीको भनाइ छ ।


चार वर्षको अवधिमा जिल्लाका एक हजार १०० विभिन्न प्रकारका उजुरीको समाधान भएको छ भने पीडित पक्षलाई रु १२ करोड क्षतिपूर्ति उपलब्ध गराउन विभिन्न निकायसँग समन्वयकारी भूमिका निर्वाह गरिएको छ ।

वैदेशिक रोजगारको जोखिमको हिसाबले नवलपरासी पाँचौ जिल्लामा पर्दछ भने रोजगारीको सिलसिलामा विदेशमा मृत्यु हुने जोखिमको हिसाबले तेस्रो जिल्लामा पर्दछ । रासस