काठमाडौंः थापाथलीस्थित एक खाद्य गोदाममा छापा मार्दा ठूलो मात्रामा कुहिएको चामल फेला परेको छ ।

आज संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले उपभोक्ता अधिकारकर्मीसहित गरिएको अनुगमन टोलीले गोदाममा अनुगमन गर्दा ४ सय ८७ क्वीन्टल कुहिएको बासमती चामल फेला परेको हो ।

खाद्य गोदामले उपभोक्तामाथि खेलबाड गर्न थाल्दा समेत सम्बन्धित निकायको ध्यान जान नसकेको एक अधिकारकर्मीले जानकारी दिए ।

गोदाममा चार वर्ष पुरानो र उपभोग्य मिति नभएको चामलसमेत भेटिएको छ । जापान सरकारले अनुदानमा दिएको टाइचिन चामलमा उत्पादन मिति लेखिए पनि उपभोग्य मिति नभएको पाइएको उनले बताए ।


अनुगमनको क्रममा सो गोदामबाट सिमीको दालमा लेबल नभएको र बास्मती चामलमा हातले लेखिएको लेबल समेत भेटिएको छ ।

चामलमा चिलेसा परेको, किरा स्पष्ट देखिएको, किराले चामल धूलो बनाएको र रङ परिवर्तन भएर खैरो भएकोले खान अयोग्य रहेको समितिले जनाएको छ ।

अनुगमनमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सभापति विमल श्रीवास्तवसहित ४ जना सांसद, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग र उपभोक्ता अधिकारकर्मीहरु सहभागी छन् ।

काठमाडौं उपत्यकामै बेला बेलामा यस्ता जनस्वास्थ्यमाथि खेलबाड हुने गरेता पनि सरोकारवालाहरु तै चुप मै चुप गरी बसेका छन् ।

अनुगमन समितिले उपभोक्ता संरक्षण ऐन–२०७५ को दफा ६ अनुसार लेबल नभएको उपभोग्य बस्तु बिक्री गर्न नपाइने भएकोले कारबाहीको लागि नमूना संकलन गरेको जनाएको छ ।


प्रकाशित मितिः आइतबार, पुस १३, १५:०१