कञ्चनपुरः खानेपानी मन्त्री बिना मगरले कन्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गत वडा नम्बर ६, ८ र १० मा सञ्चालन हुने खानेपानी ओभरहेड ट्याङकीको शिलान्यास गरेकी छन् ।

श्री सिद्धनाथ बैजनाथ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आयोजना गरेको कार्यक्रममा खानेपानी मन्त्री मगरले एक समारोहका बीच ओभरहेड ट्याङकीको शिलान्यास गरेकी हुन् । उक्त खानेपानी आयोजनाले भिमदत्त नगरपालिका तीन वडाका १७ सय २३ घरधुरीका करिब साढे ९ हजार जनसंख्या लाभान्वित हुनेछन् ।

उक्त आयोजनाको कूल लागत १८ करोड ५३ लाख रुपैयाँँ रहेको समितिले जनाएको छ । यो ट्याङकीको क्षमता साढे चार लाख लिटर रहेको छ ।


शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले स्थानीय, प्रदेश र संघीय सरकारको नेतृत्वमा देशको सरसफाइ गुरुयोजना बनाउने तयारी भैरहेको जानकारी दिइन् । ‘खानेपानीको पहुँचबाट पहुँचविहीन भएका जनताको समस्यालाई सम्बोधन गर्न देशै भरीको योजना बनाउदै छौं ।’ उनले भनिन्, ‘खानेपानीसँगै सरसफाइ र ढलको पनि रोड म्याप तयार गर्नेछौं ।’

उनले समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्दै सूदुरपश्चिम क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यसैबीच कञ्चनपुरको बेलौरीमा भएको अर्को एक कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले जनताका माँझ गरिएका प्रतिबद्धता क्रमिक रुपमा पूरा गर्दै जाने बताएकी छन् ।

शुक्रबार कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईमा निर्मित त्रिपुरा सुन्दरी भगवती मन्दिरको शिलालेख अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले नागरिकलाई विकासको मूलधारमा ल्याउन प्रयत्नशील रहेको उल्लेख गरिन् ।

मन्त्री बिना मगरले नागरिकको जीवन स्तरमा सुधार ल्याउन र दैनिक जीवनसँग जोडिएका विषयमा सकारात्मक परिवर्तन ल्याउन सरकार प्रतिबद्ध रहेको बताइन् ।


प्रकाशित मितिः शनिबार, पुस २६, ०९:०२