वीरगञ्ज: वीरगञ्ज स्थित छिपहर माई गाउँपालिका वडा नं ५ ले वडा सरसफाइसम्बन्धी १३ बुँदे आचारसंहिता जारी गरेको छ । उक्त आचारसंहिता खुला ठाउँमा दिसा गरेको सूचना दिने व्यक्तिलाई रु २५० पुरस्कार दिने घोषणा गरिएको छ । आचारसंहिताको बुँदा नं ४ मा  कुनै व्यक्तिले खुला ठाउँमा दिसा गरेको पाइएमा रु ५०० जरिवाना गरिने र सूचना दिने व्यक्तिलाई सो जरिवानाबाट रु २५० पुरस्कार दिने उल्लेख गरिएको छ ।

‘एक घर एक चर्पी, भिस्वावासीको शान, स्वच्छ जीवन वातावरण हामी सबैको स्वाभिमान’ भन्ने नारासहित छिपहरमाई गाउँपालिका वडा नं ५ ले जारी गरेको १३ बुँदे सरसफाइसम्बन्धी आचारसंहितामा सधैं चर्पीमा दिसापिसाब गर्नेछु, बाहिर खुल्ला ठाउँमा दिसापिसाब गर्ने छैन घरको चर्पीलाई नियमित सफाइ गर्नेछु, वडाभित्रका सबै विद्यालय घर कार्यालयमा चर्पी राख्नेछु, वडालाई दिसामुक्त क्षेत्र कायम गरी पूर्ण सफाइ गर्नेजस्ता प्रतिबद्धतासहित सो आचारसंहिता जारी गरिएको हो ।


छ सय ७२ घरधुरी तथा करीब १० हजार जनसंख्या रहेको सो वडालाई पूर्ण सरसफाइका लागि वार्षिक बजेट विनियोजन गर्नुका साथै खुला दिसामुक्त कार्यक्रमका लागि प्रभावकारीरुपमा अगाडि बढाइने उक्त गाउँपालिकाले जनाएको छ ।

चर्पी नै नभएको ठाउँलाई दिसामुक्त क्षेत्र घोषणा गर्नु जायज नभएको भन्दै सार्वजनिक शौचालय नबनाएर कागजी भरमा दिसामुक्त क्षेत्र घोषणा गर्नु जनप्रतिनिधिको अकर्मण्यता भएको स्थानीयले  बताएका छन्  ।