भक्तपुरः नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले संसद् पुनस्र्थापना हुने बताएका छन् ।

नेपाल तरुण दल मध्यपुर थिमि नगर समितिले आज आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सर्वोच्च अदालतले संविधान पल्टाएर हेर्ने र संसद् पुनस्र्थापना गर्ने बिश्वास ब्यक्त गरे ।

संबिधानले ५ बर्ष अघि संसद बिघटन हुन्छ भन्ने कल्पनै नगरेको बताउँदै संसद भंग गरेर प्रधानमन्त्री ओलीले असंबैधानिक र अनधिकृत काम गरेको बताए । नेकपाभित्रको अन्तरकलहले नेकपा बिघटन भए पनि त्यसको भार संसद र जनतामा पार्न नहुनेमा जोड दिंदै देशलाई संबैधानिक संकटबाट पार लगाउने जिम्मा काँग्रेसको काँधमा आएको बताए ।


राष्ट्रपति बिद्यादेबी भण्डारी प्रधानमन्त्रीको गलत कदममा साथ दिने गिरोहको सदस्य जस्तो मात्र भएको उनको आरोप थियो । देश अहिले प्रधानमन्त्री र राष्ट्रपतिको संयुक्त गिरोहले चालेको गलत कदमका कारण संमृद्धिको साटो संकटमा फसेको थापाले बताए ।

अहिलेको संबैधानिक संकटको जिम्मेवार नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड,माधब नेपाल, झलनाथ खनाल र बामदेब गौतम पनि भएको बताउँदै हिजो केपी ओलीले जनताका हक कुण्ठित र हनन गर्दा उहाँहरु कहाँ हुनुहुन्थ्यो भनी उनले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीको संसद भंग गर्ने कदमलाई संविधानले चिन्दैन भन्दै थापाले देश जनताले अहिले न्यायालयतर्फ फर्किएर हेरेको बताए । उनले भने, ‘श्रीमानहरुले दायाँबायाँ हेर्नुपर्दैन, संविधान पल्टाएर हेरे पुग्छ, राष्ट्रपति र प्रधानमन्त्रीले सम्मान गुमाएको अवस्थामा अब अदालतले गुमाउनु हुँदैन ।’

उनले अदालतमाथि प्रधानमन्त्रीले दबाब सिर्जना गर्न कसरी निर्णय उल्टिन्छ भनेर बोलिरहेको आरोप लगाए । उनले शाही आयोग खारेज गरेको अदालत प्रधानमन्त्रीसँग डराउँदैन भन्नेमा आफू विश्वस्त रहेको भन्दै अब केही दिनको बहस पछि अदालतले ओलीको असंवैधानिक कदमलाई खारेज गर्ने बताए ।

अहिलेको अवस्थामा मुलुक आइपुग्नुमा ओली मात्रै नभर सिंगो नेकपा दोषी भएको थापाको भनाइ छ । थापाले संविधानमाथी कु हँुदा चुईक्क सम्म नबालेर पूर्व सभामुख सुवासचन्द्र नेवाङ्गले निरहता प्रकट गरेको आरोप लगाए ।

कार्यक्रममा कांग्रस केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापा, तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, पुर्ब जिल्ला सभापतिद्वय गणेशमान चक्रधर र महेश श्रेष्ठ, क्षेत्रीय सभापतिद्वय जीवन खत्री र नारायण खायमली, मध्यपुर थिमि नगरपालिकाका पुर्व मेयर मदनकृष्ण श्रेष्ठ लगायका नेताले प्रधानमन्त्री ओलीको सनकले देश संकटमा फसेको भन्दै पार लगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताए ।


प्रकाशित मितिः २०७७ साल पुस २४ गते शुक्रबार, २१:२१