काठमाडौंः आज गणतन्त्र दिवस । २०६२–०६३ को जनआन्दोलन सफलपछि ०६३ जेठ १५ गते गणतन्त्र घोषणा भएको
हो । आजको दिन अरू वर्षको भन्दा बढी महत्वपूर्ण छ । संविधान निर्माण र पूर्ण कार्यान्वयनको चरणमा पुगेपछिको पहिलो गणतन्त्र दिवस भएकाले पनि यसले विशेष महत्व राख्छ । गणतन्त्र सबैखाले निरंकुशताको अन्त्य हो भने आमनागरिकको मतद्वारा निर्वाचित जनप्रतिनिधिको सरकार निर्माण गर्नु हो । अहिले त्यो पूरा भएको छ । यतिले मात्र त पुग्दैन, आमनागरिकको जीवनस्तरमा परिवर्तन आउनु र समतामूलक समाजको निमार्ण पनि यसको प्राप्ति हो ।

संविधान कार्यन्वयनको आधार तयार भएपछि वामपन्थी सरकार बन्न पुगेको छ ।


। जुन पूर्ण बहुमतसहित सत्तारोहण भएको छ । यो सरकारले विकासलाई पूर्ण गति दिने बताउँदै आमनागरिकको जीवनस्तरमा आमूल परिवर्तन गर्ने बताउँदै आएको छ । भर्खरै सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रमबाट आफ्नो अवधारणा सार्वजनिक गरेको छ । यो नीति तथा कार्यक्रमले धेरै क्षेत्रलाई समेटे पनि यसको कार्यान्वयन हुन सक्छ कि सक्दैन भन्ने आशंका सबै क्षेत्रमा छ । विज्ञहरू पनि पूरा हुने कुरामा आशंका व्यक्त गर्छन् । जे होस् स्थापना कालदेखि नै विकास, समानता र गरिबको उत्थानलाई पहिलो प्राथकिता बताउँदै आएको वाम शक्तिले संविधानमा उल्लेख भएको समाजवाद उन्मुख अर्थतन्त्र सुरु गरिने बताइरहेको छ।

आज जेठ १५ गते वाम सरकारले आर्थिक वर्ष २०७५–०७६ को बजेट संसद्मा प्रस्तुत गर्दैछ । सरकारले प्रस्तुत गर्ने बजेटले कुन–कुन क्षेत्रलाई कसरी सम्बोधन गर्ने हो र बजेटका स्रोतको व्यवस्था तथा बजेट कार्यान्वयन पनि अति महत्वपूर्ण हुन्छ । त्यसैले गणतन्त्र नेपालको भविष्य अगाडि बढाउन बाटोको काम गर्नेछ ।

अहिलेको विश्व परिवेशमा आर्थिक विकास नभएसम्म नागरिकको जीवनस्तर उठाउन सकिंदैन । नागरिक गरिबीमा पिल्सिरहने हो भने नैतिकता तथा सभ्यता पनि धराशायी हुन्छन् । नेपाल अत्यन्तै सादा, नैतिकवान् तथा विशेष सभ्यता भएको समाज हो । अहिलेको विश्व परिवेश अनुसार हिंड्न नसक्दा यहाँका स्रोतसाधन उचित रूपमा प्रयोग हुन सकेका छैनन् । शिक्षालाई प्रविधियुक्त बनाउन सकिएको छैन । जसले गर्दा बेराजगारी बढिरहेको छ ।

विश्व परिवेशमा आएको परिवर्तनले नेपालको परम्परागत सीपबाट उत्पादित वस्तुले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएको छ । कृषिजस्ता क्षेत्रमा पनि आधुनिक प्रविधि प्रयोग गर्न नसक्दा उत्पादनमा कमी आएको छ । यसबाट नेपालीको जीवनस्तर पूर्णरूपमा प्रभावित बन्दै गएको छ । सरकारले यो अवस्थालाई ख्याल गरेर अघि बढ्नुपर्ने अवस्था छ । त्यसो गर्न सकेन भने विकास, समृद्धि र समानता आउन सक्दैन । यस्तो अवस्थामा राजनीतिक स्थिरताको पनि आशा गर्न सकिंदैन ।

नेपाली समाजकै अवस्थालाई हेर्ने हो भने गणतन्त्र आइसकेपछि पनि समाजमा खासै सुधार आउन सकेको छैन । धनी र गरिबको खाडल अझ फराकिलो बन्दै गएको छ भने समाजमा रहेको सामन्ति प्रवृत्ति पनि हट्न सकेको छैन । पहिले भएका भन्दा फरक तरिकाले सामन्ति वर्ग चलिरहेका छन्, तिनीहरू अनेक रूपमा क्रियाशील भएका छन् । त्यो जालो फाल्न उपयुक्त नीति नियम त चाहिन्छ नै संविधानको पूर्ण रूपमा कार्यन्वयन गर्नु आवश्यक छ । त्यसका लागि सबैको आर्थिक गतिविधिमा पहुँच तथा अवसर प्रदान गर्नु आवश्यक छ । यतातिर सरकारले कस्तो नीति लिन्छ त्यसैमा  गणतन्त्रको भविष्य निर्भर हुनेछ ।

फाइल तस्विर